हल्का वर्षापछि दाउन्नेमा १२ घण्टा जामः सरकार के गर्छ काम ?

बुटवल । बुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा शनिबार राति सामान्य वर्षा हुँदा १२ घण्टा सवारी आवागमन ठप्प भएको छ । राति ११ बजे पूर्वतर्फ दुम्कीबास र पश्चिमतर्फ बर्दघाटमा रोकिएका सवारी आइतबार बिहान ११ बजे मात्र चल्न पाए । 

दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात रोकेर सडक विस्तारको काम गरिँदै छ । बिहान ५ बजे खुल्नुपर्ने सडक आइतबार हिलो सुकेपछि मात्र सञ्चालनमा आएको थियो । राति ११ बजेदेखि २ बजेसम्म भएको वर्षाले राजमार्ग हिलाम्मे भएको थियो ।

सडकको हिलोमा फसेका ठूला सवारीलाई डोजरले धकेलेर यातायात सहज बनाइएको जिल्ला प्रहरी पूर्वी नवलपरासीका डीएसपी मधु नेपालले जानकारी दिए ।

काठमाडौंबाट दाङ हिँडेका तुलसी गिरीले दुम्कीबासमा लामो समय जाममा बस्नुपर्दा अत्यास लागेको सुनाए । ‘कहिले पहिरो त कहिले सडक विस्तारको कामले गाडी रोकिएको थियो,’ उनले भने । रूपन्देही सैनामैनाकी सम्झना पौडेल पनि काठमाडौंबाट घर फर्कने क्रममा दाउन्नेको लामो जाममा परिन् । ‘दाउन्नेको जाम, धूलो र हिलोको सास्ती भोगेको ६ वर्ष हुन लाग्यो,’ उनले भनिन्, ‘हिउँदमा धूलो, वर्षामा हिलो हुन्छ । यसपालि त बर्खा सुरु नहुँदै यो हालत छ । अलि पछि हालत के होला ?’

दाङबाट कावासोती जाँदै गरेका पर्यटन व्यवसायी धनीराम गुरौले पानी पर्न लागेकाले दाउन्नेमा जोखिम हुने भन्दै प्रहरीले रातभर बर्दघाटमै रोकिदिएको बताए । आइतबार बिहान ५ बजे गन्तव्यमा हिँड्ने आशा गरेका उनीहरू बिहानदेखि नै जाममा परे । हिलोले सवारी चिप्लिन थालेपछि दाउन्नेमा बसेका उनीहरू ९ घण्टाभन्दा बढी जाममा परेका थिए ।

दाउन्नेमा लामो समयदेखि देखिएको आवागमन समस्या समाधानका लागि ठेकेदार कम्पनी चाइना स्टेट कर्पोरेसन र सडक विभागले ध्यान नदिएको यात्रुको गुनासो छ । सवारीसाधन चिप्लिँदा डोजरले धकेल्नुपर्ने अवस्था आउँदा पनि सडक सफा गरेर गिट्टी, बालुवा नहाल्दा घण्टौं जामको सास्ती भोग्नुपरेको उनीहरू बताउँछन् ।

गत ५ वैशाखमा सडक अनुगमनमा पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल नै चार घण्टाभन्दा बढी जाममा परेका थिए । त्यति बेला उनले सडक तत्काल मर्मत गरेर धूलो र हिलो हटाउन निर्देशन दिए पनि कार्यान्वयन भएको छैन ।

सडक विभाग र ठेकेदार कम्पनीले भने दाउन्नेमा पहाड काट्ने काम भइरहेकाले पानी पर्दा हिलो हुने गरेको बताउँदै आएका छन् । कल्भर्ट र पुल निर्माणको पनि काम भइरहेकाले साँघुरो सडकमा यातायात सञ्चालनमा समस्या आएको बुटवल–नारायणगढ सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताए । ‘अहिले दाउन्नेमा धमाधम काम भइरहेको छ ।

बर्खा अगाडि केही किलोमिटरमा ढलान गर्ने गरी काम हुँदै छ,’ उनले भने, ‘धूलो र हिलो हटाए पनि केही दिनमा उस्तै समस्या दोहोरिएको छ । ठेकेदारलाई समस्या समाधानका लागि ताकेता गरिरहेका छौं ।’ १ सय १४ किलोमिटर लामो सडक विस्तार कार्य चैत २०७५ मा सुरु भएको हो । कामको प्रगति अहिलेसम्म ६४ प्रतिशत मात्र छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर