गोलबजार नगरपालिका वडाध्यक्ष पक्राउ

जनकपुरधाम। सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन्।

अध्यक्ष अवरलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता रमेशबहादुर पालले जानकारी दिए।

गत साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर साउन १४ गते गोलबजारमा भएको तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका हुन्।

उक्त घटनामा वडाध्यक्ष अनवरको मुख्य भूमिका रहेको आरोप लगाउँदै ‘हिन्दु सम्राट सेना’ नामक संस्थाका केही व्यक्तिले करिब दुई महिनाअघि प्रहरीमा जाहेरी दिएका थिए।

सोही जाहेरीका आधारमा प्रहरीले उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको थियो।

प्रहरीका अनुसार अनवर कहिले ससुरालीतर्फ त कहिले अन्य स्थानमा लुकिछिपी बस्दै आएका थिए। घर आए पनि प्रहरीबाट बच्न लुक्ने गरेको सूचना पाएपछि उनलाई पक्राउ गरिएको प्रवक्ता पालले बताएका छन्।

मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ मा धर्म, जात, जाति, सम्प्रदाय वा भाषाका आधारमा विभिन्न समुदायबीचको सुसम्बन्धमा खलल पार्ने कसुर प्रमाणित भएमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर