• २०८१ चैत २१ बिहीबार
  • Thursday, 3 April, 2025

घनश्यामको घोषणाः भारतको आडमा राजावादीको वितण्डा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले  राजावादीहरु मुलुकमा आतंक फैलाउने र आतंकित तुल्याएर समाजलाई नियन्त्रणमा लिने षड्यन्त्रमा लागेको बताएका छन्।  

'उदण्ड , अराजक ,र अपराधपुर्ण ढङ्गबाट  मुलुकमा आतंक फैलाएर , आतकित पारेर  समाजलाइ हायलकायल पारेर नियन्त्रणमा लिने षड्यन्त्रका साथ उनीहरू  अघि बढेका छन,' एकीकृत समाजवादी मोरङको नवौं जिल्ला अधिवेशनलाई मंगलबार विराटनगरमा सम्बोधन गर्दै भूसालले भने, 'यो आतंक र षड्यन्त्र किमार्थ सफल बन्नेछैन।'

महासचिव भूसालले  राजावादीहरु भारतीय सत्ताको उक्साहटमा मुलुकमा आतंक फैलाउन लागेको आरोप पनि लगाएका छन्। 

'भारतीय सत्तामा  जो भए पनि उसको ध्येय नेपाललाई अस्थिर बनाइराख्ने हो त्यो अस्थिरताको आडमा फाइदा लिइरहने भन्ने हो,' उनले भने, 'भारतीयहरुले रोक भन्दाभन्दै बनेको यो संविधान उनीहरू हिडाइदिन चाहन्छन्। सविधानको अनुसूचीमा रहेको  चुच्चे  नक्सा स्थगित गर्दिन चाहन्छन्। यसका लागि राजावादीहरु प्रयोग भइरहेका छन। तिनको आड भरोसा भारतीय सत्ता हो।'

गणतन्त्रको नेतृत्वले यसको मुद्दालाई अन्यत्र मोडेर राज्यदोहनमा आफूलाई केन्द्रित तुल्याएको भन्दै भूसालले कमजोरी यहीँ रहेको उल्लेख गरे। 

'गणतन्त्र उन्नत कृषिमा जानुपर्थ्यो, हजारौं रोजगारी सिर्जना गर्नुपर्थ्यो,' उनले भने,'हाम्रो गणतन्त्र  उद्योगमा जानुपर्थ्यो, रोजगारीको अवसर सिर्जना गर्नुपर्थ्यो। तर, मूल नेतृत्वले २०६२-०६३ को क्रान्तिको स्पिरिटलाई  बिर्सेर  पानीजहाज र चुच्चे रेलतिर लग्यो, 'भ्यू टावरतिर लग्यो, यस्ता रमाइला कुरामा जनता भुल्याएर राज्यदोहनतिर लाग्यो। मुलभूत रुपमा कमजोरी यहीँनेर भयो।' 

सत्ताको नालायकी यसैगरी देखिदै जाने हो भने गणतन्त्रमाथी जोखिम बढ्ने उल्लेख गर्दै उनले थपे,'जनताका छोराछोरीले पढन पाउँछन्  भन्ने कुराको ग्यारेन्टी नगर्ने हो भने , उपचारको ग्यारेन्टी नगर्ने हो भने,  काम गरेर बाच्न सक्छौ  भन्ने ग्यारेन्टी नगर्ने हो भने हामीले गर्ने  शानको बैधता के हुन्छ? जनता  बिरामी भयौ चुनावमा जाउ , जनतालाइ भोक लाग्यो चुनावमा जाउ भन्ने हो ? यसरी गणतन्त्र बलियो हुन्छ?'

अहिलेको सत्ता गठबन्धन मिसन ८४ मा लाग्ने क्रममा साना दलहरु सक्ने ध्येयले अघि बढेको बताउँदै भूसालले भने, 'यो गठबन्धनले न के गर्यो ? एउटा काम गर्दै गरेको कर्मचारी निकाल्यो। युनिभर्सिटीको भिसी निकाल्यो। यिनको काम कर्मचारी निकाल्ने मात्र हो। विध्युत प्राधिकरण  राज्यको धनी सस्था देखेको  हुनाले  यिनले आँखा लाएका हुन। यो तरिकाले गणतन्त्र कति दिन बचाउन सक्छौ? यो नालायकीमा हाम्रो हस्तक्षेप जरुरी भैसकेको छ।' 

राजावादीको चुनौतीका कारण सत्ता गठबन्धनका दल अहिले साना दलसग मिल्न खोजेको तर  सारमा यी दुई दल आफू मात्रै जितेर आउने बाटो खोजिरहेको बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर