आज राजावादीको प्रदर्शनः अराजकता बढ्ने सम्भावनाप्रति सुरक्षा निकाय सतर्क

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौँमा प्रदर्शन गर्दैछ ।
विभिन्न स्थानबाट र्याली निकालेर बल्खुमा विरोध कार्यक्रम गर्नका लागि राप्रपाले प्रशासनबाट अनुमति समेत लिइसकेको छ । शिक्षक र सहकारी तथा लघुवित्त पीडितहरूले पनि प्रदर्शन गर्दैछन् ।
यसैबीच सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको छ । सोमबार एक सूचना जारी गर्दै प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरूबारे जानकारी गराएको छ ।
यी हुन् डाइभर्सन गरिने स्थान:
खसिबजार – मकालु – कलङ्की चोक– बाफल
बल्खु चोक– कुलेश्वर– कालीमाटी चोक– टेकु
कीर्तिपुर– सुन्दरीघाट– सानेपा– एकान्तकुना
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाइन्टहरू
त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सीतापाइला,
चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर ।
कार्यक्रममा सहभागी हुन सवारी साधन लिएर आउने व्यक्तिहरूले पार्किङ गर्ने स्थानहरू :–
टियू गेट देखी चोभार सडक
सानेपा करिडोर सडक (दुबै तर्फ)
चोभार सुख्खा बन्दरगाह
नयाँ बसपार्क
सीतापाइला – बाफल सडक खण्डमा एक लाइन
त्यस्तै नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बिचमा, सहकारी र लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्ने भएकाले उक्त स्थानमा पनि आवश्यकता अनुसार डाइभर्सन मिलाएको ट्राफिक प्रहरीले जनाएको छ ।
कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह समेत गरिएको छ ।
बल्खुमा हुने जुलुससहितको आमसभालाई लिएर तीन सुरक्षा संगठनले सुरक्षा योजनाबारे गम्भीर छलफल गरेका छन्। कार्यक्रमको अघिल्लो दिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख जुटेका हुन्।
नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाको समेत सहभागितामा सुरक्षा योजनाबारे छलफल हो।
यस्तै, काठमाडौँ पुलिस क्लब भृकुटीमण्डपमा नेपाल प्रहरी उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङ र सशस्त्र प्रहरीको उपत्यका ९ नं पशुपतिनाथ बाहिनीका बाहिनीपति डीआईजी सुरेश श्रेष्ठसहितले छलफल गरेका छन्। उपत्यका प्रहरी प्रमुखहरूले राप्रपाको प्रदर्शनलाई लिएर सुरक्षा योजना बनाएका हुन्।
राप्रपाले काठमाडौँको बल्खुमा हुने जुलुससहितको प्रदर्शन शान्तिपूर्ण भनेको छ।
यसअघि तीनकुनेमा पनि राजावादीहरूकै समूहले प्रशासनलाई शान्तिपूर्ण प्रदर्शन गर्ने भनेको थियो। तर कार्यक्रमको सुरुदेखि नै तोडफोड भएको थियो। सुरुमै पुगेका प्रदर्शनकारीहरूले निशेधित क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि माहोल बिग्रिएको थियो।
उक्त प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने एक सयभन्दा बढी घाइते भएका थिए।
अझै १३ जना अस्पतालमै रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए।
आन्दोलनमा नआएका व्यक्तिमाथि प्रहरीले गोली चलाएको भन्दै आलोचना भएपछि दुई प्रहरी संगठनका उपत्यका प्रमुखले आन्दोलनमा कसरी शान्तिपूर्ण बनाउने र हिंसात्मक बने कसरी सही तरिकाले बल प्रयोग गर्ने भनेर आफ्ना फिल्ड कमान्डरहरूलाई निर्देशन दिएका छन्।
प्रतिकृया दिनुहोस