बार चुनाव: काग्रेस–एमाले गठबन्धन पछ्याउँदै रमण, कति ल्याए मत ?

काठमाडाैं । नेपाल बार एसोसिएसनको नयँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना धमाधम भइरहेको छ। मत परिणाम पनि क्रमिकर रुपमा सार्वजनिक भइरहेकाे छ ।
सोमबार सुरू भएको मतगणना आज पनि जारी छ।
प्राप्त नतिजाअनुसार, विजयप्रसाद मिश्र नेतृत्वको प्यानलले सबैतिर अग्रता बढाइरहेको छ। सत्ता गठबन्धन निकट अध्यक्षका उम्मदेवार मिश्रले ८६९ मत ल्याउँदा विपक्षी गठबन्धननिकट उम्मेदवार रमनकुमार श्रेष्ठले ५२९ मत पाएका छन्।
श्रेष्ठभन्दा मिश्र ३०३ मतले अगाडि छन्।
महासचिवमा मिश्र प्यानलकै उम्मेदवार केदार कोइरालाले ८७१ मत पाउँदा श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानेले ४५६ मत पाएका छन्।
बारको २५ सदस्यीय कार्यसमिति चयन गर्न चैत २३ गते मतदान भएको थियो। अहिले पर्सा, हेटौँडा बागलुङको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ।
मिश्र प्यानलबाट उपाध्यक्षहरूमा कोसीबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोखरेल, कर्णालीबाट विवशकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा, महिला उपाध्यक्षबाट सरस्वती श्रेष्ठले अग्रता लिएका छन्।
यस्तै कोषाध्यक्षमा जगतबहादुर कार्की अगाडि छन्।
सदस्यहरूमा चिरञ्जीवी तिल्क्यानी, सूर्यकुमार यादव, रिंकुकुमारी यादव, राजकुमार श्रेष्ठ, मंगलसुन्दर शिल्पकार, इन्दिरा आचार्य, रञ्जिता कार्की, किरण पौडेल अगाडि छन्।
खुला सदस्यमा किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, मुकुन्द अधिकारी र माधव मैनालीले फराकिलो अग्रता कायम गरेका छन्।
यी सबै मिश्र प्यानलका हुन्। नेपाल बारमा नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपानिकट कानुन व्यवसायीका संगठनले गठबन्धन गरी संयुक्त प्यानल बनाएका थिए।
यसविरूद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीनिकट कानुन व्यवसायीले अर्को प्यानल बनाएका थिए।
उम्मेदवारहरूले न्यायालयको सुधारका लागि दुवैले आ–आफ्नो प्रतिबद्धतासमेत सार्वजनिक गरेका थिए । अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहले आफ्नो उम्मेदवारी नेपाल बारको संस्थागत, संरचनागत र नीतिगत सुधार गर्नका लागि आवश्यक कदम चाल्न, सशक्त, प्रभावकारी एवं कार्यमुखी बार निर्माण गर्ने भनेको थियाे ।
यो समूहको प्रतिबद्धतापत्रमा बलियो बार, बलियो र सशक्त दबाबद्वारा प्रभावकारी भूमिका निर्वाह गर्न, संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायापालिका, मानव अधिकार र पेसागत हकहितको संरक्षण गर्न, नबोदित युवा र महिला कानुन व्यवसायीका लागि विशेष नीति, योजना र कार्यक्रम सञ्चालन गर्न रहेको उल्लेख छ ।
त्यस्तै, कृत्रिम बैद्धिकताका अवसरलाई उपयोग गर्दै चुनौतीको सामना गर्न, प्राज्ञिक, व्यावसायिक र अनुसन्धानमूलक संस्थाको रुपमा नेपाल बारलाई विकसित गर्न र समग्र कानुन प्रणालीको सुधारका लागि दबावमूलक कार्यक्रम निरन्तर सञ्चालन गर्नलगायत रहेको छ ।
त्यस्तै बार निर्वाचनका अर्का अध्यक्ष उम्मेदवार वरिष्ठ अधिवक्ता डा श्रेष्ठले नेपाल बार एशोसिएशनको संस्थागत सुधार र कानुन व्यवसायीको क्षमतमा अभिवृद्धिमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यो समूहले कानुन व्यवसायीको व्यावसायिक हकहित, इज्जत प्रतिष्ठा र व्यावसायिक सुरक्षा गर्ने, स्वतन्त्र, सक्षम, जवाफदेहीता न्यायापालिका र भ्रष्टाचारमुक्त न्यायालय, कानुन व्यवसायीलाई सूचना प्रविधिमा दक्ष बनाउने कार्यक्रम सञ्चालन गर्ने लगायत रहेका छन् ।
बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियाे ।
प्रतिकृया दिनुहोस