जथाभावी बोल्छन् ऊर्जामन्त्री खड्काः भन्न थाले अब लोडसेडिङ हुँदैन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले  अब लोडसेडिङ नहुने बताएका छन् । गत चैत ६ गते राष्ट्रिय सभामा साँझको समयमा लोडसेडिङ हुने बताएका मन्त्री खड्काले बुधबार एक कार्यक्रममा भने अब लोडसेडिङ नहुने बताएका हुन् । 

रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना (७८ मेगावाट) को आज उद्घाटन गर्दै मन्त्री खड्काले अब नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने बताएका हुन् ।

सरकार नागरिकको घरघरमा र उद्योगमा २४सै घण्टा बिजुली दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न समेत उनले आग्रह गरे । 

मन्त्री खड्का उनै हुन् जसले राष्ट्रिय सभामा भनेका थिए, 'हिजो पनि उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ । हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।' 

आर्थिक सुशासन कायम गरेर लोडसेडिङ हुन नदिने गरी जलविद्युत् क्षेत्रको विकासमा लाग्न विद्युत् प्राधिकरणलाई मन्त्री खड्काले निर्देशनसमेत दिए ।

प्राधिकरणको नेतृत्वमा एसियाकै अब्बल इन्जिनियर हितेन्द्रदेव शाक्य आएकाले आगामी दिनमा विद्युत् प्राधिकरणले थप उचाइ लिने मन्त्री खड्काले बताए । 

सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पूरा गर्न निजी क्षेत्र र दातृ निकायलाई सँगसँगै लिएर हिँड्न चाहेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर