रोल्पा सुनिल स्मृति गाउँपालिकामा चट्याङ लागेर किशोरीको मृत्यु 

राेल्पा । चट्याङ पर्दा रोल्पा सुनिल स्मृति गाउँपालिका– ५ काप्जिङमा एक किशोरीको मृत्यु भएको छ। थप दुई जना घाइते भएका छन्।

सुनिल स्मृति गाउँपालिका– ५ काप्जिङमा चट्याङ पर्दा १६ वर्षीया धनमाया खत्रीको मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएकाे छ ।

रोल्पा नगरपालिका – १० कुटिवाङमा पनि घर रहेकी धनमाया आफन्तको साथमा गोठ गएको समयमा चट्याङ लागेर मृत्यु भएको हो। त्यस्तै चट्याङबाट सुनिलस्मृति – ५ कै १५ वर्षीय नवीन खत्री घाइते भएका छन्।

मध्यम अवस्थाको उनको स्वास्थ्य चौकी कालीगाउँ रोल्पामा उपचार जारी छ। चट्याङ पर्दा स्थानीय टीकाबहादुर घर्तीका १३ वर्षीया छोरी लिला घर्ती पनि घाइते भएकी छन्।

उनको स्वास्थ्य सुधार हुँदै गएको प्रहरीले बताएको छ। चट्याङबाट घर्तीका घरका दुई वटा बाख्रा पनि मरेका छन्।

त्यो क्षेत्रमा गएराति ठूलो हावाहुरीसहित पानी परेको थियो। हावाहुरीले रुन्टीगढी गाउँपालिका वडा नं. ५ हापखोलाको बालकल्याण प्राबिको जस्ता पाताको छाना उडाइदिएको छ। छानो उडाएर पाँच मिटर टाढा पुर्‍याएको प्रहरीले जानकारी दिएको छ। छानो उडाएपछि विद्यालयका सबै कागजजात पानीले भिजेर काम नलाग्ने भएका छन्।

जिल्लाको सुनछहरी गाउँपालिका – ३ कुलबहादुर बुढाको घरमा चट्याङबाट क्षति पुगेको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर