गगनले संविधानमा धर्मनिरपेक्षता लेख्नु हुँदैन थियो भन्नुकाे अर्थ के हाे ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान लेख्दै गर्दा आफ्नो मत संविधानमा धर्मनिरपेक्षता लेख्नु हुँदैन भन्ने रहेको खुलाएका छन्। बिहीबार नेपाली कांग्रेसको दोस्रो प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले यसमा केही सम्झौता गरिएको उल्लेख गरे।
‘संविधान लेख्दै गर्दा धर्मनिरपेक्षता लेख्नु हुँदैन, संविधानमा धार्मिक स्वतन्त्रता लेख्नुपर्छ भन्ने मेरो मत थियो,’ थापाले भने, ‘म मस्यौदा समितिको सदस्य थिएँ। त्यो मैले भित्र राखेको मत थियो। लिखित मत थियो। धार्मिक स्वतन्त्रता भएको देश हो नेपाल, जहाँभित्र फरक–फरक धर्म अभ्यास गर्ने खालका हामी मानिस छौं भन्ने कुरा रहनुपर्छ भन्ने थियो। तर, एउटा विषय राखेर आयो। यो एउटा खालको कम्प्रमाइज थियो।’
यद्यपि आधारभुत कुरामा भने सम्झौता नगरेको उनको भनाइ थियो। ‘संविधान लेख्दै गर्दा हामीले यसरी नै थुप्रै विषयमा सम्झौता गरेका हुन्छौं,’ थापाको भनाइ छ, ‘तर, यो भन्दै गर्दा हामीले हाम्रा आधारभुत कुरामा सम्झौता गरेनौं।’
त्यस्तै उनले अहिलेको व्यवस्था सुझबुझ पुर्याएरै ल्याएको जिकिर गरे। थापाले भने, ‘यो संघीय लोकतान्त्रिक व्यवस्था बढो सुझबुझ पुर्याएर, सल्लाह गरेर ल्याएको व्यवस्था हो। यद्यपि यो संविधान नेपाली कांग्रेस एक्लैले लेखेको होइन।’
महामन्त्री थापाले महाधिवेशनका लागि आवश्यक तयारी भइरहेको पनि बताए।
कांग्रेसले २०७८ मंसिरमा महाधिवेशन गरेकोले २०८२ मंसिरभित्र महाधिवेशन गर्नुपर्ने विधानको व्यवस्था छ। तर विधानले नै सभापतिलाई केन्द्रीय समितिबाट निर्णय गराएर एक वर्ष कार्यकाल थप गर्ने अधिकार दिएको छ।
‘२०८३ सालको मंसिरभित्र पार्टीको महाधिवेशन भइसक्छ,’ उनले भने।
पार्टीमा नेता बलियो र कार्यकर्ता कमजोर भएको बन्दै गएका कारण असन्तुष्टि रहेको भन्दै उनले संगठन निर्माणमा जुट्न पनि आग्रह गरेका छन्।
फरक प्रसंगमा उनले अहिलेको सरकारले अपेक्षाकृत रूपमा काम गर्न नसकेको पनि बताए। सरकारले गठन गरेको राजनीतिक संयन्त्रका सुझाव पनि नमान्ने गरेको उनको संकेत थियो।
साथै उनले पूर्वराजा ज्ञानेन्द्र शाह कुनै पनि हालतमा संवैधानिक राजा बन्न नसक्ने टिप्पणी गरेका छन्।
ज्ञानेन्द्र शााहलाई धोएर जति सफा गरे पनि संवैधानिक राजा बन्न योग्य नरहेको उनको भनाइ छ।
कांग्रेसले लामो संघर्ष र अनुभवबाट संवैधानिक राजा राख्न नसक्ने निर्णयमा पुगेको उनले बताए।
प्रतिकृया दिनुहोस