नक्कली प्रमाणपत्रको आधारमा जागिर खानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी सरकारी सेवा प्रवेश गरेको अभियोगमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका प्रमुख स्टोर सहायक प्रेमबहादुर रावलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड शाखा कार्यालय कैलालीका प्रमुख स्टोर सहायक पदमा कार्यरत रावलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
रावलले प्रशोधन कम्पनी लिमिटेडमा सेवा प्रवेश गर्दा भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश बोर्ड अफ हाइस्कुल एन्ड इन्टरमिडिएट एजुकेसनबाट जारी शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरेका थिए । त्यही शैक्षिक प्रमाणपत्रका आधारमा सहायक स्तर (राजपत्र अनंकित चौथो) तहबाट उनी सेवा प्रवेश गरेका थिए ।
तर, रावलले पेस गरेका शैक्षिक कागजात अनुसन्धानका क्रममा नक्कली भएको पुष्टि भएपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा भनिएको छ, ‘झुटा–नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरी जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा स्टोर सहायक तह चौथो पदमा नियुक्ति लिई बढुवा भई प्रमुख स्टोर सहायक तहको सुविधा प्राप्त गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कैद र जरिवाना मागदावी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।’
प्रतिकृया दिनुहोस