सुनसरी गोलीकाण्डमा तीन घाइते, एकको अवस्था गम्भीर

विराटनगर । सुनसरीको देवानगञ्जमा तीन राउन्ड गोली चलेको घटनामा तीन जना घाइते भएका छन्।

घटनामा घाइते हुनेमा देवानगञ्ज गाउँपालिका – ७ का २१ वर्षीय शिवकुमार मेहता, रविन कुमार यादव र पिन्टु यादव रहेका छन्।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भिम दाहालका अनुसार घाइतेमध्ये शिवकुमार मेहताको अवस्था गम्भीर रहेको छ। शिवकुमारको पेटमा गोली लागेको र हाल विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रविन कुमारको नाकको टुप्पामा गोली लागेको छ भने पिन्टुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार देवानगञ्ज ७ का कामेश्वर यादवले साना हतियारबाट तीन राउन्ड गोली चलाएका थिए। पिन्टु मेहताले चलाएको मोटरसाइकलको पछाडि सवार रहेका शिवकुमार मेहतालाई गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

एसएसपी दाहालले गोली प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको र उनको खोजी कार्य तीव्र बनाइएको बताए। ‘गोली चलाएर घाइते बनाउने व्यक्तिको खोजी कार्य तीव्र बनाएका छौँ,’ एसपी दाहालले भने।

प्रहरीको भनाइअनुसार साँझ ६:३० बजेतिर पिन्टुले चलाएको मोटरसाइकलमा सवार रहेका शिवकुमारमाथि देवानगञ्ज बजार पुग्नासाथ गोली प्रहार भएको थियो। शिवकुमारमाथि के कारणले गोली प्रहार भएको हो भन्ने विषयमा अहिलेसम्म यकिन भइनसकेको प्रहरीले जनाएको छ।

गोली प्रहारपछि फरार रहेका कामेश्वर यादवको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर