इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटायाे सरकारले

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य घटेको जनाउँदै निगमले यहाँ पनि मूल्य घटाएको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो ।
नयाँ मूल्यसूचीअनुसार उपत्यकामा प्रतिलिटर पेट्रोल १ सय ६० रुपैयाँ र डिजेल र मट्टितेल १ सय ४६ रुपैयाँ पर्नेछ । नयाँ मूल्य सोमबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।
यो क्षेत्रमा अब पेट्रोलको भाउ १५७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १४३ रूपैयाँ ५० पैसा पर्नेछ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १५९ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १४५ रूपैयाँ पर्नेछ। तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्।
यो क्षेत्रमा अब पेट्रोलको भाउ १६० रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १४६ रूपैयाँ पर्नेछ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफै कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।
आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ।
प्रतिकृया दिनुहोस