ओलीले प्रदेश प्रमुख बनाएका डा. अहिराजविरुद्ध नावालिग करणीमा पक्राउ पुर्जी जारी

काठमाडौं । नेकपा एमालेले प्रदेश प्रमुख बनाएका मधेशवादी अभियन्ता तथा मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजका विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार प्राप्त जाहेरीका आधारमा अनुसन्धान जारी छ । जाहेरवाला पक्षको दाबी पुष्टि हुने/नहुने कुरा अनुसन्धानपछि मात्रै भन्न सकिने उनले बताए ।

फौजदारी कसुरमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको हो । चैत २५ मा उनीविरुद्ध अदालतबाट पुर्जी जारी भएको हाे ।

उनीविरुद्ध फौजदारी कसुरमा जाहेरी परेको भनिए पनि प्रहरीले औपचारिक रुपमा सो विषय सार्वजनिक गर्न अस्वीकार गरेको छ । 

जाहेरीमा डा. अहिराजले मधेशमूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ । शुरूमा राष्ट्रिय महिला आयोगमा पुगेकी पीडित पछि केही महिला अधिकारकर्मीको साथमा प्रहरीमा पुगेकी हुन् ।

उनले गत माघ १० गते जिल्ला प्रहरी परिसर, भद्रकालीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिइन् ।

उक्त जाहेरीलाई फागुन ३ गते प्रहरी कार्यालयको दर्ता किताबमा अभिलेखित गरेको थियो । सोही आधारमा जिल्ला अदालत, काठमाडौंबाट पक्राउ आदेश माग गरिएको पीडितको पक्षमा काम गरिरहेकी एक सहयोगीले बताइन् ।

उनका अनुसार पक्राउ पुर्जी जारी भएको चार दिन भइसक्यो । तर, अहिराज प्रहरी सम्पर्कमा आएका छैनन् ।

अहिराज २०७७ फागुन ७ मा एमालेकाे काेटाबाट  मधेश प्रदेश प्रमुख नियुक्त भएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर