• २०८२ बैशाख ७ शनिबार
  • Saturday, 19 April, 2025

अमेरिकी भिसा अपोइन्टमेन्ट प्रक्रिया सहज र व्यवस्थित बनाउन नयाँ मापदण्ड अप्रिल २८ देखि लागू हुने

अमेरिकी दूतावास काठमाडौंले गैरआप्रवासी भिसा आवेदकका लागि अपोइन्टमेन्ट प्रक्रियालाई थप सहज र व्यवस्थित बनाउन नयाँ मापदण्ड अप्रिल २८ देखि लागू गर्ने भएको छ। २०८२ वैशाख १२ देखि सम्पूर्ण भिसा आवेदकहरूले कन्फर्मेशन र एएबाट सुरु हुने बारकोड नम्बर सहितको डीएस-१६० भिसा आवेदन फारम साथमा लिएर आउनुपर्ने दूतावासले जनाएको छ। आवेदकहरूले अनलाइन माध्यमबाट अपोइन्टमेन्ट लिँदा प्रयोग गरेको कन्फर्मेशन र बारकोड नम्बरसँग मेल खाने भिसा आवेदन फाराम साथमा ल्याउन दूतावासले सूचित गरेको हो।

दूतावासले भनेको छ, “यदि तपाईंको डीएस-१६० फारममा भएको कन्फर्मेशन र बारकोड नम्बर तपाईंले अपोइन्टमेन्ट बुक गर्दा प्रयोग गरेको कन्फर्मेशन र बारकोड नम्बरसँग मेल नखाएमा तपाईं भिसा अन्तर्वार्तामा सहभागी हुन पाउनुहुने छैन।”

बारकोड नम्बरहरू एकआपसमा मेल नखाएमा आवेदकले आफ्नो भिसा आवेदनलाई अगाडि बढाउनका लागि नयाँ अपोइन्टमेन्ट बुक गर्नुपर्ने दूतावासले जानकारी दिएको छ। साथै, दूतावासले अन्तर्वार्ताअघि डीएस-१६० फारममा भएको कन्फर्मेशन र बारकोड नम्बर तपाईंले अपोइन्टमेन्ट निर्धारण गर्दा प्रयोग गरेको कन्फर्मेशन र बारकोड नम्बरसँग मेल खान्छ कि खाँदैन भन्ने कुराका लागि दोहोरो जाँच गर्न सुझाव दिएको छ। आफ्ना बारकोड नम्बरहरु एकअर्कासँग मेल खानेकुरा सुनिश्चित गर्दा ढिलासुस्तीबाट बच्न सकिने र भिसा अन्तरवार्ताको प्रकृया समेत सहज बन्ने दूतावासको भनाई छ ।

दूतावासले  विद्यार्थी भिसा आवेदकहरूलाई डीएस-१६० फारममा भएको सेभिस आईडी नम्बर र अप्वाइन्टमेन्ट निर्धारण गर्दा प्रयोग गरेको सेभिस आईडी नम्बर मेल खाए नखाएको जाँच गर्न सुझाव दिइएको छ।

यसअघि दूतावासले मार्चको तेस्रो साताबाट आफ्नो अपोइन्टमेन्ट लिँदा प्रयोग गरेको डीएस १६० फारमको बारकोड अनिवार्य रूपमा पेश गर्नुपर्ने नियम ल्याएको थियो । दूतावासकी प्रवक्ता जेहेरा नक्भीले  सार्वजनिक गरेको भिडियो सन्देशअनुसार अमेरिकी भिसा अपोइन्टमेन्टको माग उच्च रहेको र धेरै आवेदकले समय लिन कठिनाइ भोगिरहेको अवस्थालाई सम्बोधन गर्न यो परिवर्तन ल्याइएको थियो ।

प्रवक्ता नक्भीले भनिन्, “हामीलाई थाहा छ कि अमेरिकी भिसा अपोइन्टमेन्टको माग अत्यधिक छ, जसले गर्दा धेरैका लागि समय पाउनु चुनौतीपूर्ण भएको छ। हामीले देखेका समस्यामध्ये एउटा हो—आवेदक तयार हुनुअघि नै अपोइन्टमेन्टहरू रिजर्भ गरिनु, जसले तपाईंहरूजस्ता व्यक्तिका लागि सीमित स्थानमात्र बाँकी रहन्छ।” उनले यो समस्याको समाधानका लागि नयाँ मापदण्ड लागू हुने बताइन्।

नयाँ मापदण्डअनुसार, अब प्रत्येक गैरआप्रवासी भिसा आवेदकले आफ्नो अपोइन्टमेन्ट लिँदा प्रयोग गरेको डीएस-१६० फारमको बारकोड अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। “यो नियमले अपोइन्टमेन्ट लिने र अन्तरवार्तामा उपस्थित हुने व्यक्ति एउटै हो भन्ने सुनिश्चित गर्नेछ,” नक्भीले भनिन्। “यसले दूतावासमा तपाईंको समयलाई सकेसम्म छोटो बनाउन सहयोग गर्नेछ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर