• २०८२ बैशाख ८ सोमबार
  • Monday, 21 April, 2025

शिक्षकको आन्दोलनमा घुसपैठ, अविभावक भन्दै पुगेका व्यक्ति काे हुन् ?

काठमाडौं । शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौँको माइतीघर मण्डलादेखि बानेश्वर सडक खण्डमा प्रदर्शनको क्रममा शिक्षकहरूविरुद्ध नाराबाजी गर्ने व्यक्ति पक्राउ गरेका हुन्।

शिक्षकहरूविरुद्ध लगातार नाराबाजी गरेपछि ती व्यक्तिलाई शिक्षकहरूले नै घेरा हालेर नियन्त्रणमा लिएका हुन् । लगत्तै ती व्यक्तिलाई प्रहरीको जिम्मा लगाएको नेपाल शिक्षक महासंघले जनाएको छ। उनीलाई केही शिक्षकहरूले लछारपछार समेत पारेका थिए।

शिक्षकहरूको आन्दोलनमा शिक्षकविरुद्ध नै नाराबाजी गरेका व्यक्तिलाई सामान्य धकेला धकेल भएकाे थियाे । 

सरकारले शिक्षकहरूलाइ विश्वासमा लिएर घर फर्काउन नसक्दा काठमाडौंको सबैभन्दा व्यस्त मानिने माइतीघर–नयाँ बानेश्वर सडकखण्ड पछिल्ला २० दिनदेखि अशान्त छ । सरकारसँग विभिन्न माग राखेर आन्दोलित शिक्षकहरु आफ्ना माग पूरा गरेरै छाड्ने र सम्झौतामा नटुङ्ग्याउने नीतिका कारण सरकारसँग वार्ताका लागि पनि तयार भएका छैनन् । 

उनीहरुले यतिबेला अनौपचारिक छलफललाई भने निरन्तरता दिएका छन् । हरेक दिन ‘पिक आवर’मा प्रमुख मार्ग अवरुद्ध हुँदा यसको मारमा विद्यार्थी, कर्मचारी, व्यवसायीलगायतका यात्रु परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपक गिरी आन्दोलनका कारण यात्रुहरुले निकै दुःख पाएको बताउँछन् । अझ कार्यालय समयमा सडक ठप्प हुँदा समयमै कार्यालयमा पुग्न समस्या भइरहेको उनको भनाइ छ । ‘बानेश्वर–माइतीघरमा मानिसहरु जम्मा हुँदा सवारीसाधनलाई विभिन्न स्थानबाट डाइभर्सन गरी सञ्चालन गरिएको अवस्था छ, सवारीसाधनलाई तीनकुने, रणोद्वीप, कृष्णपाउरोटीलगायतका स्थानबाट डाइभर्सन गरिएको छ’, प्रहरीले भनेको छ । डाइभर्सनका कारण पुरानो बानेश्वर, सेतोपुल, सिंहदरबार दक्षिणढोका, माइतीघर, अनामनगर, हनुमानस्थान, थापागाउँ हुँदै चल्ने सवारीसाधनलाई ‘क्यू’मा सञ्चालन गरिएको छ ।

पिकआवरमा बढेका सवारीसाधनका कारण काठमाडौँ उपत्यकास्थित कोटेश्वर, गौशाला, जयबागेश्वरी, मित्रपार्क, चाबहिल, सोह्रखुट्टे, लैनचौर, रणोद्वीप, त्रिपुरेश्वर, टेकु, कालोपुल, थापाथली र कुपण्डोल हुँदै चल्ने सवारीसाधन पनि क्यूमै चलेको प्रहरीको भनाइ छ । मुलुकमा विभिन्न क्षेत्रबाट काठमाडौँ केन्द्रित भएका शिक्षकहरुका पनि आफ्नै समस्या छन् । लामो समयसम्म काठमाडौँमा बस्दा खर्चको जोहो गर्न पनि उनीहरुलाई हम्मेहम्मे परिरहेको छभने केही शिक्षकहरु आफन्तकहाँ आश्रय लिइरहेका छन् ।

चैत र वैशाखको टन्टलापुर घाममा उनीहरुले कहिले गीत गाएर त कहिले कवितामार्फत शिक्षकहरुले आफ्ना माग राखिरहेका छन् । उनीहरुले विभिन्न गीत र नृत्यमार्फत विरोध र्‍यालीलाई रोमाञ्चक पनि बनाइरहेका छन्। उनीहरुको विरोध र्‍यालीका कारण सिंहदरबार, कोटेश्वर, तीनकुने, नयाँबानेश्वर, शङ्खमूल, माइतीघरलगायतका क्षेत्र सामान्य बन्न सकेको छैन । 

विभिन्न भागबाट काठमाडौँ आएका शिक्षकका कारण विद्यालयको शैक्षिक तालिका प्रभावित भएको छ । नयाँ शैक्षिकसत्र सुरु हुँदा भर्नालगायतका प्रक्रियाका लागि विद्यालयमा खटिनुपर्ने शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुँदा सामुदायिक विद्यालयको पठनपठान र शैक्षिक क्रियाकलाप प्रभावित भएको छ । माग पूरा गर्नका लागि नेपाल शिक्षक महासंघका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली र सभामुुख देवराज घिमिरेसँग यही वैशाख ५ गते बेग्लाबेग्लै भेट गरी माग सम्बोधनका लागि आह्वान गरिसकेका छन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर