• २०८२ बैशाख १३ शनिबार
  • Saturday, 26 April, 2025

आन्दोलनरत शिक्षकका तर्फबाट वार्ता टोली सरकारले किन तोक्यो ?

काठमाडौं । शुक्रबार आन्दोलनरत शिक्षकहरुका तर्फबाट वार्ता टोली तयार भएको सूची सार्वजनिक भयो ।

सबैले ठाने शिक्षकहरुले नै वार्ता टोली बनाए होलान् । तर अचम्म त्यतिबेला भयो जतिबेला शिक्षक आन्दोलनको नेतृत्व गरिरहेका लक्ष्मीकिशोर सुवेदीले वार्ता टोली आफूहरुले नबनाएको जानकारी दिए । त्यस्तो वार्ता टोली सरकारकै तर्फबाट बनाएका रहेछन् । 

सुवेदीले सरकारसँग वार्ताका लागि भनेर सार्वजनिक २५ सदस्यीय टोली आफ्नो संगठनले नबनाएको बताए। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले वार्तामा बोलाएपछि शुक्रबार शिक्षा मन्त्रालय जान भनेर सिंहदबारको गेटमा पुगेका शिक्षक प्रतिनिधिहरू त्यसै फर्किएका थिए। 

विशेष कारणवश आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको अध्यक्ष सुवेदीको भनाइ छ। 

अध्यक्ष सुवेदीले भनेका छन्, ‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेशि (नेपाल शिक्षक) महासंघ तयार नगरेको बेहोरा जानकारी गराउँछौँ। मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ तर विशेष कारणवश हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ।’

यो अभिव्यक्तिले शिक्षा मन्त्रालयले आज निर्णायक वार्ता हुने भने पनि शंका उब्जाएको छ।

तत्काल नयाँ शिक्षा ऐन ल्याउनु पर्ने मागसहित देशैभरिका शिक्षक काठमाडौँमा २५ दिनदेखि आन्दोलनरत छन्।

शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियानसहित विद्यालय तहका सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको छ।

सोही कारण वैशाख ११ गते गर्ने भनिएको कक्षा १२ को वार्षिक परीक्षा पनि वैशाख २१ का लागि सारिएको छ। 

सर्वाेच्च अदालतले तीन दिन भित्र शिक्षकका माग सम्बाेधन गरेर शिक्षकहरूलाइ विद्यालय फर्काउन सरकारलाइ निर्देशन दिएकाे थियाे । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर