• २०८२ बैशाख १५ सोमबार
  • Monday, 28 April, 2025

शिक्षक आन्दोलनमा सहभागि भए माधवकुमार नेपाल

काठमाडौं । २७ दिनदेखि काठमाडाैंमा जारी शिक्षक आन्दोलनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागि भएका छन् ।

अध्यक्ष नेपालसहति नेता झलनाथ खनाललगायतका नेताहरू सहभागि भएर फर्किएका छन् । 

पञ्चायती ऐन खारेज गर, शिक्षा ऐन जारी गर । पुलिसको दादागिरी बन्द गर भन्दै औंलो ठड्याउँदै एकहोरो नारा लगाएर नेताहरूलाई आन्दोलनकारी शिक्षकहरूले बिजुलीबजारसम्म लखेटे ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ’आन्दोलन विभाजन गर्न अनेकथरी प्रचार भइरहेको छ । सचेत रहनुहोला । हामीले ढाँट्नुपर्ने केही छैन । २४ बुँदे कार्यसूची जारी गरेका छौं त्यो नै हाम्रो आधिकारिक डकुमेन्ट हो । यहाँ ९ बुँदे ७ बुँदेका कुरा पनि आइरहेका छन् । त्यस्तो केही होइन ।’

यसअघि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले माधवकुमार नेपाललाई शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउनभन्दा शिक्षा समिति सभापति एकीकृत समाजवादीका सांसद रहेकाले शिक्षा विधेयक चाँडै टुङ्ग्याउन निर्देशन दिन आग्रह गरेका थिए ।  

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले २७ औं दिनदेखि आन्दोलन गरिरहेको छ । उक्त ऐन संसद्‍को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहेको छ। समितिबाट पारित गरेर संसदमा विधेयक नआउँदा विद्यालय शिक्षा ऐन जारी हुन सकेको छैन। उक्त समितिका सभापति एकीकृत समाजवादीका सांसद अम्मर बहादुर थापा रहेका छन्।  

माग सम्बोधन गर्न मन्त्रिपरिषद् बैठकले निर्णय गरेपनि शिक्षकहरु लचक भएर सरकारसँग सहमति गर्न तयार भइरहँदा एक अन्तर्वार्तामा सभापति थापाले शिक्षकहरू ऐन माग्दै सडकमा आएपनि तत्काल जारी हुन नसक्ने बताएका थिए। सभापति थापाले सबै खाले छलफल, प्रक्रिया पूरा गर्न अझै एक महिना लाग्ने धारणा राखेका छन्।

विद्यालय शिक्षा विधेयक हाल शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिमा संशोधनसहित छलफल चलिरहेको छ। उपसमितिलाई वैशाख २३ गतेसम्मको समय सीमा दिइएको छ। विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले संशोधनसहित पारित गरेपछि बल्ल प्रतिनिधिसभामा टेबुल हुन्छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर