बर्दिया पुगेर प्रचण्डले भनेः सहिद परिवारलाई रोजगारी र सम्मान

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बर्दियाको राजापुर नगरपालिका–४ मा सहिद तथा बेपत्ता परिवारसँग अन्तरक्रिया तथा छलफल गरेका छन्।
तराई मधेस जनजागर अभियान अन्तर्गत आयोजित कार्यक्रममा प्रचण्डले समस्याहरू सुन्दै स्थायी समाधानका लागि प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा सहिद तथा बेपत्ता परिवारका दुबै स्थानीय तहका प्रतिनिधिहरूले संयुक्त रूपमा अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए।
अन्तरक्रियामा सहभागीहरूले जनयुद्धको ऐतिहासिक सन्दर्भ, आफ्ना संघर्षका कथा लेखेर शैक्षिक पाठ्यक्रममा समेट्नुपर्ने, जीविकोपार्जन, बालबच्चाको पालनपोषण, शिक्षा र रोजगारीका समस्याहरू समाधान गर्न आग्रह गरे ।
गुनासाहरू सुनेपछि अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै भने, “पार्टीले वर्गीय र सहिद, बेपत्ता परिवारसँग सम्बन्ध सुधार गर्न देशभर अभियान चलाइरहेको छ। हामी सकेसम्म सहिद तथा बेपत्ता परिवारका घरमै बसी दुखसुख साट्दै आएका छौँ।”
उनले जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गरेको प्रसंग स्मरण गर्दै भने, “शान्ति प्रक्रिया नसकिन्जेल अदालतको आदेशका कारण रोकिएको भए पनि पार्टी जनयुद्धलाई राष्ट्रिय दिवसका रूपमा मनाउने पक्षमा अडिग छ।”
अध्यक्ष प्रचण्डले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको र आयोग गठन प्रक्रिया अघि बढेको जानकारी दिए । उनले भने, “आयोग बनेपछि सहिद तथा बेपत्ता परिवारका नाममा पार्क बनाइने, प्रमाणपत्र वितरण गरिने र कम्तीमा एक जना सदस्यलाई रोजगारी दिने व्यवस्था सुनिश्चित गरिएको छ। साथै, सार्वजनिक यातायातमा छुटसहित गणतन्त्र सेनानीका रूपमा सम्मान दिने व्यवस्था पनि विधेयकमा समावेश गरिने छ।”
बर्दिया जिल्ला राज्यद्वारा सबैभन्दा बढी व्यक्तिहरू बेपत्ता पारिएको जिल्ला भएको अध्यक्ष प्रचण्डले भने ´संयुक्त राष्ट्रसंघको रेकर्डअनुसार समेत बर्दियामा सबैभन्दा बढी बेपत्ता घटना भएका छन्।'
कार्यक्रमको अन्त्यमा अध्यक्ष प्रचण्डले सबै सहिद तथा बेपत्ता परिवारलाई पार्टीको विचार, नीति र मार्गनिर्देशनको पक्षमा दृढ रहन आग्रह गरे।
प्रतिकृया दिनुहोस