कुलमानले भनेकै अवस्था देखिएपछि विद्युत प्राधिकरणको स्वेतपत्र सार्वजनिक कार्यक्रम स्थगित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो पछिल्लो अवस्थाबारे जानकारी गराउन स्वेतपत्र जारी गर्ने तयारी गरेको थियो । यसअघि सरकारले हटाएका सफल कार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिक गरेका तथ्यहरुलाई ऊर्जामन्त्री दीपक खड्काले कागजी भन्दै यथार्थ सार्वजनिक गर्न स्वेतपत्र जारी गर्न खोजेका थिए ।
प्राधिकरणले आन्तरिक गृहकार्य गरेर स्वेतपत्र तयार पनि पारेको थियो । तर मंगलबार सार्वजनिक गर्ने भनिएको पत्र सार्वजनिक भएन । प्राधिकरण श्रोतका अनुसार कुलमानले भनेकै तथ्यको वरपर अवस्था देखिएकाले ऊर्जा मन्त्रालयको निर्देशनमा स्वेतपत्र सार्वजनिक कार्यक्रम अनिश्चित कालका लागि स्गगित गरिएको हो ।
बक्यौतासहितको रकम जोडेर देखाएको नाफालाई इन्कार गर्दै आएका ऊर्जामन्त्री खड्का अहिले सोही नाफालाई मान्न तयार भएका छन् । कुलमानलाई हटाएर नियुक्त भएका हितेन्द्रदेव शाक्यले पनि प्राधिकरणको नाफालाई ‘फर्जी’ भनेका थिए । नियुक्तिलगत्तै उनले श्वेतपत्र जारी गरेर प्राधिकरणको वास्तविक वित्तीय अवस्था सार्वजनिक गर्ने निर्णय पनि गरेका थिए ।
तर, अहिले प्राधिकरणको आन्तरिक लेखा परीक्षणबाट पास भई सञ्चालक समितिबाट समेत अनुमोदन भएको र महालेखा परीक्षकको कार्यालयले समेत प्रमाणित गरेको नाफालाई नै सदर गरेर शाक्यले श्वेतपत्रमा कुलमानले भनेकै अंकमा सञ्चित नाफा रहेको विवरण राखेका छन् ।
प्राधिकरणमा कुलमान बर्खास्तमा परेर नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आएसँगै प्राधिकरणको आर्थिक अवस्था जटिल रहेको सार्वजनिक कार्यक्रमहरूमा बोल्दै आएका छन् ।
श्वेतपत्रमा प्राधिकरणले चालु आर्थिक वर्षको फागुनसम्म ठेक्कापट्टामा ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको भुक्तानी दायित्व रहेको उल्लेख गरेको स्रोतले जानकारी दिएको थियाे।
शाक्यकाे प्रवेशसँगै उद्याेगधन्दामा लाेडसेडिङसमेत सुरू भएकाे छ ।
श्वेतपत्रमा उल्लेख भएको वित्तीय अवस्था अनुसार प्राधिकरणको सञ्चित नाफा ४६ अर्ब ४७ करोड रूपैयाँ छ।
घिसिङले पनि आर्थिक वर्ष २०७२/७३ सम्म प्राधिकरणको सञ्चित घाटा करिब ३५ अर्ब रूपैयाँ रहेको उल्लेख गर्दै २०७३/७४ बाट निरन्तर नाफामा ल्याई घाटा पूर्ति गरेको उल्लेख गरेका थिए। उनले २०८०/८१ सम्म सञ्चित नाफा करिब ४७ अर्ब रूपैयाँ पुगेको विवरण सार्वजनिक गरेका थिए।
अहिले ऊर्जा मन्त्रालयले नै स्वीकृत गरेर सार्वजनिक गर्न लागिएको श्वेतपत्रमा प्राधिकरणको सञ्चित नाफा लगभग त्यही नै छ।
श्वेतपत्रमा २०८०/८१ सम्म प्राधिकरणको कुल सम्पत्ति करिब ६ खर्ब ४४ अर्ब रहेको उल्लेख छ। स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब छ भने करिब २ खर्ब २० अर्ब बराबरका निर्माणाधीन आयोजना छन्। निर्माणाधीन आयोजना जतिसक्दो छिटो सक्ने र प्रतिफल प्राप्त गर्ने उल्लेख छ।
घर संरचनाका आधारमा ९१.४१ र परिवार संख्याका आधारमा ८४.६२ प्रतिशतमा विद्युत पहुँच पुगेको छ।
केही समयअघि मात्र निवर्तमान कार्यकारी निर्देशक घिसिङले आफू बर्खासीमा परेपछि वित्तीय विवरण सार्वजनिक गर्दै ९९ प्रतिशतभन्दा बढी जनतामा विद्युत पहुँच पुगेको उल्लेख गरेका थिए।
नेपालको कुल जडित उत्पादन क्षमता ३५११.५७ मेगावाट पुगेको र प्राधिकरण मातहतका आयोजनाको मात्र जडित क्षमता ६६१.५७ मेगावाट पुगेको श्वेतपत्रमा उल्लेख छ। प्रतिव्यक्ति विद्युत खपत ३५१ किलोवाट आवर छ।
प्राधिकरणमा सरकारको सेयर लगानी २ खर्ब ६ अर्ब ७४ करोड छ। सञ्चित नाफा र अन्य जगेडातर्फ ५ अर्ब ८९ करोड गरी जम्मा इक्विटी (लगानी) २ खर्ब ५९ अर्ब १० करोड छ।
प्राधिकरणले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म भएका ठेक्कापट्टामा ११ अर्ब ६१ करोड रूपैयाँ भुक्तानी दिन बाँकी छ।
प्राधिकरणको केन्द्रीय कोषमा करिब १० अर्ब १० करोड मौज्दात रहेको र त्यसमध्ये डलर र मुद्दती खातामा ३ अर्ब ६८ करोड रूपैयाँ, धरौटी खातामा ३ अर्ब ९५ करोड तथा अन्य चालू खातामा २ अर्ब ४७ करोड रूपैयाँ छ। यो दैनिक सञ्चालनका लागि न्यूनतम जगेडा हो।
प्राधिकरणसँग निर्माणको बाँकी भुक्तानीका लागि जगेडा नहुँदा १० अर्ब रूपैयाँसम्म अल्पकालीन ऋण लिने प्रक्रिया अघि बढाएको उल्लेख छ।
डेडिकेटेड फिडर तथा ट्रंकलाइन तर्फको २३ अर्ब ४४ करोडमध्ये पहिलो खण्ड २०७२ साउनदेखि पुससम्म १ अर्ब ४२ करोड, दोस्रो खण्ड २०७२ माघदेखि २०७५ वैशाखसम्म ६ अर्ब ११ करोड र तेस्रो खण्ड २०७५ जेठदेखि २०७७ असारसम्म ९ अर्ब १ करोड र चक्रिय जरिवाना ६ अर्ब ९० करोड छ।
बक्यौता असुलीका लागि प्राविधिक रूपमा प्रमाण जुटाउनुपर्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणको सञ्चित नाफा ४६ अर्ब ४७ करोड छ। घिसिङले आर्थिक वर्ष २०८०/८१ मा विद्युत चुहावट १२.७३ प्रतिशतमा झरेको उल्लेख गरेका थिए। अहिले त्याे बढेर विद्युत चुहावट १४.८५ प्रतिशत पुगेकाे छ।
प्रतिकृया दिनुहोस