• २०८२ बैशाख २० शनिबार
  • Saturday, 3 May, 2025

उपेन्द्र यादवलाई आफ्नै कार्यकर्ताले होहल्ला गरेर भाषण नै रोकिदिए

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल रुपन्देहीद्वारा आयोजित एकताको प्रथम जिल्ला अधिवेशनमा प्रमुख अतिथि थिए- पार्टीका जसपाका अध्यक्ष उपेन्द्र यादवले भाषण गर्दा उनकै पार्टीका कार्यकर्ताले हाेहल्ला गरेर मन्तव्य नै राेक्नुपर्ने अवस्थामा पुर्याइदिएका छन् । 

केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव कार्यकर्ताकाे हल्लाका कारण एकाएक भाषण रोके र रिसाउँदै सोफामा बस्न बाध्य भए ।

‘के गरौं ? छाडौं ? घर जाने ? म धन्यवाद दिएर जाऊँ त ? मलाई पनि छुट्टी,' आफ्नो भाषण चलिरहेका बेला हल्ला गरेका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै यादवले भने, ‘हुन्छ, हवस् त यहाँहरु सबैलाई धेरै धन्यवाद ।’

यति भनेपछि उनी कार्यक्रमको अध्यक्षता गरिरहेका अध्यक्षसँगै सोफामा बसे । कार्यक्रम सञ्चालक के गर्ने के नगर्ने असमञ्जसमा परे । केहीबेर मञ्चमा सन्नाटा छायो । उनले प्रमुख अतिथि यादवलाई धन्यवाद दिएर आफ्नो भनाइ अन्त्य गरेको जानकारी दिए । अनि, मायाको चिनो वितरणका लागि आमन्त्रण गरे । केहीले यादवलाई के भयो भनेर सोध्दा उनले आफूले बोलिसकेको जवाफ दिए ।

३–४ मिनेटपछि मञ्चबाट एकजनाले हल्ला गर्ने कार्यकर्ताहरुप्रति लक्षित गर्दै ‘तपाईंहरुले हल्ला गर्नुभएको थियो त उहाँ कसरी बोल्नुहुन्छ ? उहाँको भाषण सुन्न अन्तर्राष्ट्रिय जगत् नै पर्खेर बस्छ’ भनेपछि यादवले केहीबेरमा भाषण पुन: सुरु गरेका थिए ।

'धन्यवाद हजुरहरुलाई, केही साथीहरुको आग्रहमा चाँडै छाडिदिएको थिएँ । केही साथीको आग्रहमा पुन: सुरु गरें,’ उनले भने ।

यसअघि उनले शासन व्यवस्था बदलिए पनि मधेशी, अल्पसंख्यक, मुस्लिम, जनजातिको अवस्थामा परिवर्तन आउन नसकेको र कांग्रेस-कम्युनिस्ट झन्डामुनि रहेर संघर्ष गरे पनि उनीहरुको जीवनमा परिवर्तन आउन नसकेको बताएका थिए । 

मुलुकमा नयाँ व्यवस्थाा आए पनि पुरानै शासकहरुले नै रजगज गरिरहेको दाबी उनले गरेका छन् । समान हकअधिकारका लागि लामो संघर्ष गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भए पनि शासकहरु नबदलिँदा जनताले परिवर्तनको खासै अनुभूति गर्न नपाएको भनाइ उनको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर