भाजपाका नेता चौथाइवालेले नेपाली १९ नेताहरुलाई लाइन लगाएर भेटे

काठमाडौं । भारतीय सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाली नेताहरुलाई लाईन लगाएर भेट गरेका छन् ।
पूर्व प्रधानमन्त्री तथा दलका अध्यक्षहरुलाई भेट्न उनीहरुकै निवास पुगेका चौथाइवाले दोस्रो तथा तेस्रो तहका नेताहरुलाई भने आफू बसेको होटलमै बोलाएर लाइन लगाएर भेटे ।
चौथाइवालेले तीन दिनको नेपाल भ्रमणमा प्रधानमन्त्री, तीन पूर्वप्रधानमन्त्रीसहित १९ जनासँग भेटेर शुक्रबार फर्किएका छन् । उनले संसद्भित्रका कांग्रेस, एमाले, माओवादी, रास्वपा, लोसपा र जनमत पार्टीका नेतृत्व र दोस्रो तहका नेताहरूसँग अलग–अलग भेट गरे ।
बुधबार काठमाडौं ओर्लिएका उनले प्रधानमन्त्री केपीशर्मा ओली, पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई भेटेका थिए ।
शुक्रबार काठमाडौं छाड्नु पूर्व उनले एमालेका महासचिव शंकर पोखरले, एमाले नेता उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग छुट्टा छुट्टै भेटेका छन् । त्यस्तै, माओवादीका उपमहासचिव वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र उपाध्यक्ष स्वर्णिम वाग्लेलाई पनि दिल्ली उड्नु पूर्व उनले भेटे ।
यसअघि कांग्रेस नेताहरू शेखर कोइराला, गगन थापा, प्रकाश शरण महत, एनपी साउद र उदयशमशेर राणा त्यस्तै गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु देउवा राणालाई उनले भेटेका थिए । माओवादी नेता जनार्दन शर्मालाई पनि उनले छुट्टै भेटे ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पनि उनले भेटेका हुन् ।
प्रतिकृया दिनुहोस