माओवादीकै याेजनामा बनेको मध्यपहाडी लोकमार्ग अभियान चलाउँदै माओवादी

काठमाडौं । काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले आउँदो जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान सञ्चालन गर्ने भएको छ।
आज (आइतबार) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले यसअघि सञ्चालित हुलाकी राजमार्ग केन्द्रित अभियानको समीक्षा गर्दै नयाँ अभियानको घोषणा गरेको हो ।
बैठकले गत फागुन १२ गतेदेखि सुरु गरिएको हुलाकी राजमार्ग केन्द्रित अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकाले यो माओवादीको मात्र नभइ सम्पूर्ण राष्ट्रकै अभियान बन्न पुगेको ठहर गरेको छ। त्यस्तै उक्त अभियानमा सहभागी हुनेहरुलाई पनि धन्यवाद ज्ञापन गर्दै प्रस्ताव बैठकले पारित गरेको छ ।
बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना र संगठनात्मक पक्षबारे विस्तृत छलफल भएको समेत उल्लेख गरिएको छ।
बैठकले हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान’ को समीक्षा गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार यस अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकोले माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण राष्ट्र कै अभियान बन्न पुगेको छ ।
मध्यपहाडी लोकमार्ग तत्कालिन नेकपा माओवादी केन्द्र नेतृत्वकै सरकार भएको बेलामा परिकल्पना गरेर बनाउन थालिएको थियो । सो राजमार्ग अहिले लगभग बनिसकेको अवस्थामा छ । यसले तराइसँगको सम्बन्ध सहज बनाउनुका साथै मध्य पहाडी क्षेत्रका नागरिकको अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ ।
बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना र सङ्गठनात्मक पक्षबारे विस्तृत छलफल भएको उनले बताए ।
‘तराई मधेस जागरण अभियानले सबैलाई रूपान्तरणका लागि वातावरण तयार पारेको छ । राष्ट्रिय एकता सुदृढ गर्नका लागि धेरै महत्त्वपूर्ण भूमिका खेलेको छ’, सापकोटाले भने, ‘अध्ययन, अनुसन्धान, खोज, अन्वेषणका लागि एउटा आधार तय भएको छ । नेपाली समाजको आजको अध्ययन सुव्यवस्थित भएको हामीलाई लागेको छ । नयाँ संस्कार, संस्कृति र सदभावको प्रादुर्भाव भएको छ । नेपाली समाजवादको मार्गचित्र देखा परेको छ। आफैभित्र शक्तिशाली रूपान्तरणको भाव पैदा भएको छ । समाजवादी विचारधाराको प्रस्थानबिन्दू बनेको छ ।’
यस्तै नेता–कार्यकर्तामा स्वस्थ चेतना पैदा हुँदै गएको र पार्टी र नेतृत्वप्रति सकारात्मक प्रभाव जरासम्म पैदा भएको सापकोटाले बताए । उनले सहिद परिवार, वेपत्ता परिवार, घाइते परिवारसँग अन्तरसंवाद र ऊर्जा पैदा गरेको जिकिर गरे ।
हुलाकी मार्ग निर्माण, विकासबारे सबैमाझ स्पष्ट भएको, अन्तरक्रिया, अन्तरसंवाद, गोष्ठी उपलब्धिमूलक भएको, माओवादीलाई विचारको रूपमा मात्र नभए समग्र संरक्षकको रूपमा सबैले बुझेको बैठकले प्रष्ट पारेको उनको भनाइ छ । यसैगरी पार्टीभित्र कमरेडली भाव पुनर्जागरण भएको र आकर्षणलाई सङ्गठनमा रूपान्तरण गर्न संकल्प गरेको पनि सापकोटाले बताएका छन् ।
प्रतिकृया दिनुहोस