रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीले जवाफ नदिए नाउपाले सरकार छाेड्ने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीको पक्राउबारे संघीय संसदको प्रतिनिधि सभामा प्रश्न उठेको छ । नाउपाकै सांसद लगायत अन्य दलका सांसदहरुले चौधरीलाई अनाधिकारीक रुपमा पक्राउ गरेर ५ घण्टासम्म थुनिएकोबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै लाेसपाका सांसद महन्थ ठाकुरले चाैधरीमाथिकाे पक्राउ अन्यायपूर्ण भएकाे भन्दै जवाफ माग गरे ।
'हामी जुन पीडा भोगिरहेका छौँ, चाहे थारु होस्, चाहे मधेशी जनजाति होस्, हामीलाई किन निरन्तर अन्याय हुन्छ ?,' उनले प्रश्न गर्दै भने, 'म संसद्मार्फत् नेपाली समाजलाई अनुरोध गर्दछु, हामीलाई अनावश्यक जेलमा राखिन्छ । पक्राउ गरेर अपहरणको शैलीमा लगेर थुनेर राखिन्छ । त्यहाँ कुनै कारण हुँदैन । केही छैन । एउटा व्यक्तिको गलत चिठीको आधारमा पक्राउ गरेर लगेर ५ घन्टासम्म जेलमा किन राखियो ? यो हामीमाथि किन भइरहेको छ ?'
नाउपाका सांसद लालवीर चौधरीले भोलिको बैठकमा उक्त घटनाबारे जवाफ नदिए सरकार छाड्न बाध्य हुने चेतावनी दिए ।
‘वैशाख १७ गते नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला सांसद रेशम चौधरीलाई अपहरण गरेर डिल्लीबजार पुर्याइयो’, चौधरीले भने, ‘जुन पुर्जीका आधारमा उहाँलाई पक्राउ गरियो त्यसलाई फर्जी भनिएको छ । तर सरकारले जवाफ दिएको छैन । प्रधानमन्त्रीले भोलीको बैठकमा जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुन्छौ ।’
सर्वोच्चका मुद्दा तथा रिट महाशाखाका कर्मचारी विष्टको पत्रका आधारमा रेशम चौधरीलाई प्रहरीले पक्राउ गरी वैशाख १७ गते करिब पाँच घन्टा डिल्लीबजार कारागारमा राखेको थियो। अनधिकृत पत्र लेख्ने सर्वोच्चका कर्मचारी विष्टलाई भने प्रहरीले पक्राउ गरी अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ।
नाउपाबाट केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा एक राज्यमन्त्री छन्।
त्यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समेत चौधरी पक्राउ प्रकरण रहस्यमय भएको बताए ।
प्रतिकृया दिनुहोस