• २०८२ बैशाख २३ मंगलबार
  • Tuesday, 6 May, 2025

प्रसाईंमाथि सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरमा पनि अनुसन्धान

काठमाडौँ । प्रहरी हिरासतमा रहेका राजावादी अभियान्ता दुर्गा प्रसाईंविरुद्ध बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान अघि बढेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंविरुद्ध दुवै कसुरमा अनुसन्धान सुरु गरेको हो । सीआईबीले सोमबारदेखि उनीसँग बयान थालेको छ ।

प्रसाईं चैत १५ को तीनकुने घटनाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । परिसरबाट झिकाएर सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा लगेर प्रारम्भिक बयान सुरु गरेको हो । उनीविरुद्ध सीआईबीले उच्च अदालत पाटनबाट पक्राउ पुर्जी लिएको थियो । सीआईबीका एसएसपी होविन्द्र बोगटीले प्रसाईंविरुद्ध सम्पत्ति शुद्धीकरण, राष्ट्र बैंक ऐन र त्यससँग सम्बद्ध बैंकिङ कसुरमा अनुसन्धान अघि बढाएको जानकारी दिए ।

मेडिकल कलेजसहित विभिन्न व्यवसाय सञ्चालनका लागि बैंकबाट लिएको कर्जा दुरुपयोग र त्यसकै आडमा सम्पत्ति शुद्धीकरण गरेको आरोप लागेपछि नेपाल राष्ट्र बैंकले उनीमाथि अनुसन्धान गर्न सीआईबीमा पत्र पठाएको थियो । गत कात्तिक अन्तिम साता र माघ २३ मा पत्र पठाउँदै राष्ट्र बैंकले प्रसाईं सम्बद्ध कारोबारको अनुसन्धान गर्न भनेको थियो । यसबाहेक आपराधिक समूह लगाएर प्रसाईंले व्यापारी तथा बैंक सञ्चालकलाई धम्क्याएको आरोपमा सीआईबीमा जाहेरी परेको थियो । सीआईबीका एसएसपी होविन्द्र बोगटीले राष्ट्र बैंकको पत्र र पीडितबाट परेका जाहेरीका आधारमा प्रसाईंविरुद्ध बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान अघि बढेको बताए । चैत १७ मा उच्च अदालत पाटनले प्रसाईंलाई पक्राउ अनुमति दिएको थियो ।

प्रसाईं झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेज तथा अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक हुन् । प्रसाईं, उनका पारिवारिक सदस्य/नातेदारका नाममा बीएन्डसी मेडिकल कलेज र अस्पतालसहित विभिन्न ३१ वटा कम्पनी रहेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ । यी कम्पनीका नाममा गत असोजसम्म विभिन्न ५ वटा बैंकको साँवा र ब्याज गरी ७ अर्ब २५ करोड ८७ लाख रुपैयाँ कर्जा भुक्तान गर्न बाँकी रहेको सीआईबीको अनुसन्धानमा उल्लेख छ ।

प्रसाईंविरुद्ध तत्कालीन एनसीसी बैंक (पछि कुमारी बैंकमा मर्ज) बाट पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा प्रवाह भएको १२ करोड ५० लाख, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक लिमिटेडबाट होटल एट्रियमका नाममा ५ करोड रुपैयाँ र गुडविल फाइनान्स लिमिटेडबाट यूए मेडिको सप्लाइज एन्ड इक्विपमेन्ट प्रालिका नाममा प्रवाह भएको १० करोड रुपैयाँ कर्जा पनि प्रयोजनविपरीत लिएकोमा उनीमाथि अनुसन्धान गर्न जाहेरी परेको छ । बैंकिङ कर्जा लगानीबाट भएको नाफा लुकाउन विभिन्न पक्षमार्फत शंकास्पद कारोबार गरेको आरोपमा उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढेको हो ।

विभिन्न देशबाट प्रसाईं र उनका आफन्त/नातेदारका खातामा सन् २०२१ यता साढे १० करोड रुपैयाँबराबरको विदेशी मुद्रा आएको भन्दै राष्ट्र बैंकले यो रकम शंकास्पद कारोबार हुन सक्ने आशंकासहित अनुसन्धान गर्न पनि सीआईबीमा पत्राचार गरिसकेको छ ।

चैत १५ मा राजावादी प्रदर्शनका क्रममा तीनकुनेमा हिंसा भड्काई मानवीय र भौतिक क्षति गराएको आरोपमा पक्राउ परेका प्रसाईं जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । तीनकुने घटनापछि फरार भएका प्रसाईंलाई गत चैत २८ मा भारतको आसामबाट नियन्त्रणमा लिइएको थियो । राज्यविरुद्धको अपराध र संगठित अपराधसहितका कसुरमा प्रसाईंमाथि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर अनुसन्धान गरिरहेको छ । प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधसम्बन्धी मुद्दा पनि विचाराधीन छन् । दुवै मुद्दामा उनी धरौटीमा छुटेका प्रतिवादी हुन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध दायर गरेको साइबर अपराधसम्बन्धी मुद्दामा गत असोज १५ मा १ लाख धरौटी बुझाएर छुटेका थिए । २०८१ असोज ६ मा उनी साइबर अपराधकै आरोपमा भक्तपुरस्थित निवासबाट पक्राउ परेकामा ९ दिनपछि असोज १५ मा धरौटीमा रिहा भएका थिए । दुवै मुद्दा काठमाडौं अदालतमा विचाराधीन छन् । तीनकुने घटनाको अनुसन्धान पनि टुंगिएको छैन । साइबर कसुरको मुद्दा अदालतमा र तीनकुने घटना अनुसन्धानकै क्रममा रहेका बेला उनीविरुद्ध सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरमा पनि अनुसन्धान अघि बढेको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर