• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

पकिस्तानमाथि भारतीय हमलाः महासचिव भन्छन्: गलत, उपमहासचिव भन्छन्: सही– माओवादी धारणा के ?

काठमाडौं । आतंकवाद नियन्त्रणका लागि भन्दै भारतले पाकिस्तानको कास्मिर क्षेत्रमा गरेको हमलाबारे नेपालको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेता कार्यकर्ता अन्योलमा परेका छन् । यो हमला ठिक हो कि गलत भन्नेमा आफ्नै पार्टीका पदाधिकारीका बीचमा विपरित धारणा सार्वजनिक भएपछि कार्यकर्तामा अन्योलता छाएको छ । 

केन्द्रीय सदस्य तहका एक नेताले समाचार दैनिकसँग भने, पार्टी महासचिवले चिनियाँ लाईनमा पाकिस्तानमाथि आक्रमण गर्नु भारतको गल्ती भन्नुभएको छ, संगठन विभाग प्रमुखले भारतले चलाएको अप्रेसन सिन्दुर सही भन्नु भएको छ । असली पार्टी लाईन कुन हो भन्नेमा अन्योल सृजना भयो । 

महासचिव देवप्रसाद गुरुङले फेसबुकमा लामो स्टाटस लेख्दै भनेका छन्, “हिजो भारत ले पाकिस्तानको विभिन्न क्षेत्रमा हवाई मार्फत क्षेप्यास्त्र आक्रमण गरेको छ। यो अत्यन्तै दुखद विषय हो। भारतले आक्रमणको कारण केहि दिन अगाडि कास्मिरको पहलगाममा भएको आतंककारी आक्रमणको बदला बताईएको छ। निस्चय पनि जनसंहारकारी आतंककारी गतिविधि को विरोध गर्नै पर्छ। तर उक्त पहलगामको आक्रमण कस्ले गरेको हो भन्नेबारे स्वतन्त्र रुपमा पुष्टी भएको देखिन्दैन। यस्तो स्थितिमा पाकिस्तानलाई आरोपित गरि आक्रमण गर्नु न्यायोचित मान्न सकिने देखिन्दैन। अतः त्यस प्रकारको सैन्य कार्यबाहीहरु अविलम्व बन्द गरी दुबै मुलुक विचमा संवाद गरिनु पर्छ। पलगाम हत्या काण्डबारे स्वतन्त्र प्रकारको अन्तरराष्ट्रिय कमिसन गठन गरी छानविन गरिनु पर्छ। भारत र पाकिस्तान दुबै नेपालको छिमेकी मित्रराष्ट्र हो। दुबै मुलुक संग नेपालको दौत्य संबन्ध छ। छिमेकीहरु विचको द्वन्दबाट नेपाल प्रभावित हुन्छ। यस्तो स्थितिमा नेपालले संयुक्त राष्ट्रसंघको वडापत्र र पन्चशिल को सिद्वान्त को आधारमा नेपाल मौन बस्न मिल्दैन। नेपालले युद्व होईन, शान्ति को पक्ष लिनै पर्छ। शान्तिको लागि आफ्नो दायित्व निर्वाह गर्नै पर्दछ।”

उता उपमहासचिव शर्माले आतंकवादविरुद्ध लड्नु सही भएकाे बताउँदै भारतको पक्षमा मत दिएका छन् । ‘भारतले आतंकवादविरुद्ध ‘अपरेसन सिन्दूर’ सञ्चालन गरेको छ । आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो । आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो । साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक छ ।’ उनले लेखेका फेसबुकमा लेखेका छन् ।

नेताहरूबिचकाे परस्पर विराेधी धारणालाइ कतिपय माओवादी नेताहरूले भाेलिका दिनमा माओवादी राजनीतिमा पर्न सक्ने असरका रुपमासमेत व्याख्या गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर