• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

राजावादीले फेरि थाल्ने भए आन्दोलन, जेठ १५ देखि लगातार प्रदर्शन 

काठमाडाैं । राजतन्त्र पुर्नस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि धर्ना, जुलुस र प्रदर्शन गर्न आग्रह गरेको छ। 

बिहीबार समितिले आन्दोलनका कार्यक्रम घोषणा गर्न आयोजना गरेको कार्यक्रममा संयोजक नवराज सुवेदीले भने, ‘जेठ १५ देखि नै जुलुस, धर्ना र प्रदर्शन गर्न सबैमा अपिल गर्दैछौँ।’

आन्दोलनबारे विस्तृत कार्यक्रम पछि सार्वजनिक गरिने भन्दै उनले सबैलाई यसमा सहभागी हुन समेत आह्वान गरे। ‘यस आन्दोलनमा सहभागी हुन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा हामी आग्रह गर्दछौँ,’ सुवेदीले भने। 

साथै आन्दोलनमा संलग्न समूह र दललाई वडा, पालिका र जिल्लामा संयुक्त जनआन्दोलन समिति गठन गर्न समेत उनले आग्रह गरे।

सुवेदीले भने, ‘प्रत्येक जिल्ला, पालिका र वडामा संयुक्त जनआन्दोलन समिति गठन गर्न यस आन्दोलनमा संलग्न दल र समूहलाई आह्वान गर्दछौँ।’

अहिलेको व्यवस्थाले देशलाई निकास नदिने निष्कर्षसहित राजावादी समूहले १४ बुँदे प्रतिबद्धता बाहिर ल्याएकाे छ । जसमा सबै विचारधारा र शक्तिहरू हटाउने गरी संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्ने उद्घोष गरिएको छ ।  

आफूहरूको लक्ष्य प्राप्त गर्न सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिमार्फत कार्यक्रमहरु हुने प्रतिबद्धता पत्रमा उल्लेख छ । यद्यपि आन्दोलनका कार्यक्रम शान्तिपूर्ण हुने, भद्र अवज्ञा र सत्याग्रह आन्दोलनको स्वरूप हुने स्पष्ट गरिएको छ । 

यस्तै भ्रष्टाचारप्रति शून्य सहनशीलता कायम गर्दै देशमा सुशासन र कानुनी राज्यको प्रत्याभूति दिलाउने क्रममा २०७४ साल यता सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिन गरी उच्चस्तरीय अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । 

आन्दोलनलाई सफल तुल्याउन देशको प्रत्येक जिल्ला, पालिका तथा वडाहरूमा संयुक्त जनआन्दोलन समितिहरू गठन गरिने तथा देशको विभिन्न भागहरूमा स्वतःस्फूर्त रूपले जुलुस, धर्ना लगायतका जनप्रदर्शन हुने समितिको भनाइ छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर