पाकिस्तानले आक्रमण थालेपछि आईपीएल रोकियो

काठमाडौं । पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार धर्मशालामा भएको खेल ‘ठूलो प्राविधिक गडबडी’ का कारण रद्द भएको जनाइएको छ ।
टस जितेर ब्याटिङ गरेको पन्जाबले १०.१ ओभर खेलेपछि फ्लडलाइट निभ्दा थप खेल हुन सकेन । ‘बिजुलीमा अवरुद्ध हुँदा रंगशालाको एउटा टावरमा खराबी आएको छ, स्टेडियमभित्र रहेका सहभागीलाई पर्न गएको असुविधाप्रति माफी चाहन्छ,’ बीसीसीआईको आधिकारिक एक विज्ञप्तिमा भनिएको छ ।
तर सुरक्षाका कारण खेल रोकिएको अर्को रिपोर्टमा जनाइएको छ । आईएएनएसले जनाएअनुसार आईपीएल प्रमुख अरुण धुमलले जम्मुमा जारी ‘रेड अलर्ट’ को आधारमा सावधानी अपनाउन यस्तो निर्णय गरिएको जनाएका छन् ।
फ्लडलाइटका कारण खेल रद्द भएको पहिला भनिए पनि पछि दर्शकलाई सुरक्षाका लागि रंगशाला बाहिर निकालिएको जनाइएको थियो ।
पीटीआईका अनुसार सोही कारण जम्मु नजिकको क्षेत्रहरूमा हवाई आक्रमणको हवाई अलर्टपछि खेल रद्द गर्नुपरेको थियो । जम्मुसहित भारतको पन्जाव राज्यका पहाडी सहरहरूमा ‘ब्ल्याकआउट’ गरिएको छ ।
वर्षाका कारण निर्धारित समयभन्दा १ घन्टा १५ मिनेट ढिला टस भएको थियो । त्यसपछि भने पन्जाबका ओपनर प्रियांश अर्या र प्रभसिमरन सिंहले शतकीय साझेदारी गरेर उत्कृष्ट सुरुआत दिलाएका थिए । अर्या ३४ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ७० रनमा आउट भएलगत्तै फ्लडलाइटमा समस्या आएपछि खेल रोकिएको थियो । अर्का ओपनर सिंह २८ बल खेल्दै ७ चौका प्रहार गरी ५० रन बनाई क्रिजमा थिए ।
खेल सुरु हुनु अगाडिमात्र पन्जाब र मुम्बई इन्डियन्सबीच आइतबार धर्मशालामै हुने खेल अहमदाबादमा सारिएको थियो । आईपीएलले यस खेलका लागि व्यवस्थापकीय चुनौती भएको जनाएको छ । पन्जाबको टोली धर्मशाला र चन्डीगढ सहर केन्द्रित रहेको छ । तर, यी दुवै सहरका विमानस्थलमा बुधबारदेखि नागरिक र व्यावसासिक उडान बन्द गरिएको छ ।
भारत र पाकिस्तानबीच सीमामा तनाव भएपछि भारतीय उत्तर–पश्चिम क्षेत्रका एयरपोर्टहरू पनि बन्द गरिएका छन् । धर्मशालाबाट जम्मु झन्डै २ सय किलोमिटर टाढामात्र रहेको छ । केही घन्टा अगाडिमात्र जम्मुमा विष्फोट भएको जनाइएको थियो ।
एयरपोर्टहरू बन्द रहेका कारण मुम्बईको टोली चण्डीगढ र धर्मशाला पुग्ने कुनै सम्भावना नै छैन । दिल्ली र पन्जाबको टिमसहित ब्रोडकास्ट टोलीलाई धर्मशालाबाट आगामी खेलस्थल लैजान आयोजकलाई ठूलो समस्या भइरहेको छ । पन्जाब र दिल्ली दुवै टोलीलाई स्थलमार्गबाट दिल्ली पुग्न १० घन्टा लाग्ने छ । दिल्लीले आइतबार गुजरातसँग दिल्ली र पन्जाबले सोही दिन अहमदाबादमा मुम्बईसँग खेल्नेछ ।
प्रतिकृया दिनुहोस