• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

सरकारलाई सभामुखको रुलिङः भारत–पाकिस्तान लफडामा नेपालीहरुको सुरक्षामा ध्यान दिनु

काठमाडौं । सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीच सुरु भएको तनावले त्यहाँ बस्ने नेपालीहरूको सुरक्षा लगायतमा पर्ने प्रभावको व्यवस्थापन गर्न सरकारलाई रुलिङ गरेका छन्। 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले रुलिङ गर्दै भने, ‘भारत पाकिस्तानको सिर्जित अवस्था र त्यहाँ बस्ने नेपालीहरूको सुरक्षा लगायतमा पर्न सक्ने सम्भावित समस्याप्रति आवश्यक व्यवस्थापन गर्न गराउन नेपाल सरकारको म ध्यानाकर्षण गराउँछु।’

आजको बैठकमा भारत-पाकिस्तान तनावबारे बोल्दै धेरै सांसदले रुलिङको माग गरेका थिए।

दुवै पक्षको गतिविधिको चेपुवामा नेपाली विद्यार्थी पनि परेका छन्। 

बिहीबार पञ्जाब राज्यकै जालन्धरनजिकै ड्रोन देखिएको थियो। प्रतिरक्षा प्रणालीले त्यसलाई निष्तेज बनाएको बताइन्छ।

एपियूमा अहिले तीन सय विद्यार्थी अध्ययनरत छन्। एपियूले त्यस्तो सूचना निकालेपछि केही नेपाली विद्यार्थी जोखिम लिएर भए पनि घर फर्कन थालेका छन्।

यसैबीच नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भारत र पाकिस्तानमा रहेका नेपालीहरूको जीवन रक्षाका लागि गम्भीर पहल गर्न माग गरेका छन्।

भारत र पाकिस्तानमा नेपालीहरू अध्ययन, श्रम र व्यवसायमा रहेको उल्लेख गर्दै महामन्त्री शर्माले उनीहरूको जीवन युद्धले जोखिममा पर्ने भएकोले अविलम्ब गम्भीर पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन्।

‘भारत र पाकिस्तानमा हजारौं नेपाली विद्यार्थी अध्ययनमा, लाखौं नेपाली श्रम र व्यवसायमा छन्, युद्धले जोखिममा पर्दैछ तिनको जीवन। कश्मिरको आतंकवादी हमलामा हाम्रा युवा सुदीप न्यौपाने मारिएको स्मरण गर्दै प्रधानमन्त्रीज्यू, त्यहाँ रहेका नेपालीको जीवन रक्षामा अविलम्ब गम्भीर पहल गरियोस्,’ महामन्त्री शर्माले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर