कानुन दिवसका दिन सर्वोच्च अदालतको कार्यक्रम तारे होटलमा

काठमाडौं । सर्वोच्च अदालतले कानुन दिवसका दिन आज एक भव्य कार्यक्रम अयोजना गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सम्माननीय माननीयहरुको भिड नै लागेको उक्त कार्यक्रम सर्वोच्च अदालतको आयोजनामा भएको हो ।
देशको सिंगो न्यायपालिकाको नेतृत्वदायी अंग सर्वोच्चले देशको कार्यपालिका र व्यवस्थापिकालाई समेत कानुन कार्यान्वयन र राष्ट्रिय हितका लागि अभिप्रेरित गरिरहनु पर्दछ ।
तर सर्वोच्च आफैं आर्थिक पारदर्शीता र मितव्ययीतामा अलमलमा पर्ने गरेको छ ।
त्यसैको पछिल्लो उदाहरणका रुपमा कानुन दिवस काठमाडौंको बानेश्वरस्थित द एभरेष्ट होटलमा कार्यक्रम आयोजना गरिनुलाई लिन सकिने कतिपय सर्वोच्चका अधिकारीहरु टिप्पणी गर्दछन् ।
सर्वोच्चले आफ्नै कार्यालयको हल, सरकार मातहतको गोदावरी सभाहल, स्टाफल कलेजलगायतका अन्य राम्रा स्थानमा कार्यक्रम गर्नपनि सक्ने उनीहरुको भनाई छ । यसले सर्वोच्च प्रशासन राष्ट्रप्रति कति मितव्ययी र जिम्मेवार छ भन्ने देखाउन सक्ने उनीहरुको भनाई छ ।
गोदावरी लगायतका स्थानमा सरकारले ठूला कार्यक्रम तथा गोष्टिहरु गर्नका लागि भनेर करोडौं खर्च गरेर सभाहल बनाएपनि अहिले ती स्थानमा मुसा कुद्न थालेका छन् ।
राष्ट्रपति पौडेलले कानून दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, “ कानुन दिवसको आजको यस दिनले न्याय र कानूनको क्षेत्रमा आवद्ध सबैको मन र मस्तिष्कमा सो गुरुत्तर दायित्वको बोध निरन्तर गराई रहनेछ भन्ने विश्वास लिएको छु ।”
उनले राज्यको कार्यकारणी, विधायिकी र न्यायिक अधिकार एउटै निकायबाट प्रयोग भइरहेको तत्कालीन अवस्थामा यो ऐन (प्रधान न्यायालय ऐन, २००८) लागू भएपछि व्यवहारिक रुपमै शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणा अनुरुप न्याय सम्पादनको कार्यको थालनी भएको हुँदा न्याय र कानून जगतमा यो दिनको विशेष महत्व रहेको धारणा व्यक्त गरे ।
उनले नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकता अनुरुप नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधिसमेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित, मुद्धाको शीघ्र व्यवस्थापनमार्फत छिटोछरितो न्याय सम्पादन, विधिको शासन कायम तथा न्यायिक मूल्य मान्यतामा क्षयीकरण हुन नदिई न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने सुनिश्चतताका लागि कानून दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभेच्छा प्रकट गरे ।
प्रतिकृया दिनुहोस