ओलीको दावीः 'हामीले कुरा गर्यौं, हात हालाहाल रोकियो'

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भावित लडाईंबाट पछि हटेकोमा छिमेकी देश भारत र पाकिस्तानलाई धन्यवाद दिएका छन् । दुई देशबीच हात हालाहालको स्थिति आए पनि युद्ध सुरु नभएकोप्रति उनले सन्तोष व्यक्त गरेका छन् ।
आज (सोमबार) लुम्बिनीमा आयोजित २,५६९ औं बुद्ध जयन्ती मूल समारोहमा प्रधानमन्त्री ओलीले बुद्धका उपदेशहरू आज पनि विश्वका लागि महत्वपूर्ण रहेको बताए। उनले भारत र पाकिस्तानको प्रसङ्ग जोड्दै भने, ‘केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो । तर त्यो हात हालाहाल बढ्न पाएन संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस् है यो हात हालाहालको स्थिति भनेर । लडाईमा परिणत हुन नपाओस् भन्ने कामना गर्यौँ । उहाँहरुसित पनि कुरा गर्यौं, नभन्दै उहाँहरूले लडाईमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ ।’
प्रधानमन्त्री ओलीले गौतम बुद्धका उपदेशहरू आजको अशान्त र द्वन्द्वग्रस्त विश्वमा अझ बढी सान्दर्भिक रहेको बताए। ‘बुद्धका शिक्षाहरू– शान्ति, सहिष्णुता, करुणा र मानवताको मुल आधार हुन्,’ उनले भने, ‘यी मूल्यहरू आत्मसात् नगरी विश्वमै शान्ति सम्भव छैन ।’ प्रधानमन्त्रीले बुद्ध दर्शनको गहिरो अध्ययन, अनुसन्धान र प्रचारप्रसारका लागि स्थापना गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशेष रूपमा उल्लेख गर्दै यस संस्थाले विश्वभर बुद्धका विचार फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
उनले विश्वविद्यालयमार्फत अन्तर्राष्ट्रिय विद्यार्थीलाई समेत बुद्ध दर्शन अध्ययन गर्न आकर्षित गर्न सकिने धारणा राखे । भिक्षु आनन्दप्रति श्रद्धा प्रकट गर्दै प्रधानमन्त्री ओलीले त्रिपिटकलाई भोजपत्रमा लिपिबद्ध गरी सुरक्षित राखिएको ऐतिहासिक कार्यको स्मरण गरे । ‘त्रिपिटकको पहिलो लिपि अहिले पनि लुम्बिनी संग्रहालयमा सुरक्षित छ, जुन हाम्रो ऐतिहासिक र धार्मिक सम्पदाको जीबित उदाहरण हो,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले बुद्धका शिष्यहरूले शान्ति, करुणा र अहिंसाको प्रचारमा खेलेको भूमिकाको प्रशंसा गर्दै आजको समाजलाई पनि ती मूल्यहरू व्यवहारमा उतार्न प्रेरित गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘हामी सबैले मैत्रीभाव, करुणा र अहिंसाको मार्ग अँगाल्नु आजको आवश्यकता हो,’ उनले भने । प्रधानमन्त्रीको सम्बोधनपछि समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।
प्रतिकृया दिनुहोस