सगरमाथा सम्वादका दुई सत्र सफल भए– परराष्ट्र मन्त्री राणा

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणाले ‘सगरमाथा संवाद २०२५’ को उद्घाटन सत्रको सुरुवाती दुई महत्वपूर्ण सत्र सफलतापूर्वक सम्पन्न गरिएको बताइएकी छन् ।
काठमाडौंमा शुक्रबार (जेठ २) देखि सुरु भएको सगरमाथा संवाद आइतबारसम्म सञ्चालन हुनेछ । संवादको पहिलो दिन उद्घाटन सत्र र मुख्य थिम ‘क्लाइमेट चेन्ज, माउन्टेन एन्ड फ्युचर अफ ह्युमनिटी’ अर्थात् ‘जलवायु परिवर्तन, पर्वतहरू र मानव भविष्य’ भन्ने मुख्य विषयमा नेपालका मन्त्री, आमन्त्रित विदेशी मन्त्री तथा संघसंस्थाका प्रतिनिधिले आफ्नो भनाई राखेका थिए ।
‘यो सगरमाथा संवादको औपचारिक कार्यक्रम थियो । जहाँ प्रधानमन्त्रीले पनि सम्बोधन गर्नुभएको थियो,’ उनले भनिन्, ‘पहिलो संस्करणको पहिलो दिनमा हामीले दुई वटा महत्वपूर्ण संवाद सम्पन्न गरेका छौं ।’ संवादको दुई सत्रमा सहभागीहरुले जलवायु परिवर्तनको विषयमा नेपालसँग आफ्नो प्रतिबद्धता जनाएको उनले बताइन् । शुक्रबारदेखि सुरु भएको ‘सगरमाथा संवाद २०२५’ को बीचमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री राणाले उक्त जानकारी दिएकी हुन् ।
‘हाम्रो पूरै जीवन हिमालसँग जोडिएको छ । कोप २९ का अध्यक्षले जलवायु परिवर्तनका विभिन्न पक्षबारे प्रकाश पार्नुभयो । साथै कोप २९ को उपलब्धिबारे बताउनुभयो,’ उनले भनिन् ।
संवादको उद्घाटन सत्रमा चीनबाट राष्ट्रिय जनकंग्रेसका स्थायी समिति उपाध्यक्ष सियाओ जिए, भारतबाट वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्दर यादव र कोप–२९ का अध्यक्ष एवं अजरबैजानका पारिस्थितिकी तथा प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेभले आफ्नो शुभकामना तथा जलवायु परिवर्तनको विषयमा आफ्नो भनाइ राखेका थिए । यसैगरी संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले भिडियोमार्फत संवादलाई सम्बोधन गरेका थिए । महासचिव गुटेरेसले हिमालय क्षेत्रमा के भइरहेको छ भन्ने विषयमा सन्देश दिएको मन्त्री राणाले बताइन् ।
राष्ट्रिय स्तरबाट संवादको मुख्य थिममा नेपालका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङ, बंगलादेशकी सामाजिक कल्याण मन्त्रालय तथा महिला तथा बालबालिका मामिला मन्त्रालयकी सल्लाहकार शर्मिन सोनेया मुर्शिद, बेलायतका संसदीय राज्यमन्त्री बारोनेस सुजन हेयम्यान, जापानकी विदेश मामिलाका लागि संसदीय उपमन्त्री इकुइना आक्किो, भारतका अतिरिक्त सचिव अमनदीप गर्ग, कतारका जलवायु परिवर्तनसम्बन्धी विशेष दूत एंव विदेश मामिला मन्त्रीका उपमन्त्री बाडर ओमर अल दाफा, किर्गिस्तानका राष्ट्रपतिकी विशेष प्रतिनिधि दिनारा केमेलोभा, नेपालका लागि ब्राजिकका राजदूत कार्लोस अल्बर्टो मिकाएल्सेन डेन हार्टोग, इजिप्टकी नेपालका लागि राजदूत नोहा हम्दी अहमद एलगेबाली, भारतका लागि ओमानका राजदूत इस्सा बिन सालेह अल शिबानी र नेपालको लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले जलवायु परिवर्तनसम्बन्धी आफ्नो भनाइ र प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरुले उक्त सत्रमा आफ्नो भनाइ राखेका थिए । ‘सहभागी मध्यपूर्व एसियाका राष्ट्रका प्रतिनिधिले पनि प्रतिबद्धता जाहेर गर्नुभएको छ । जहाँ हिमाल छैन ती मुलुकले पनि जलवायु परिवर्तनको विषयमा आफ्नो प्रतिबद्धता जनाउनु भएको हो,’ परराष्ट्र मन्त्री राणाले भनिन् ।
संवादको पहिलो दिन थिम १ : पवर्तभन्दा पर : पवर्तलाई समुद्रसँग जोड्दै (बियोन्ड माउन्टेन्स : लिंकिङ माउन्टेन्स टु ओसन) भन्ने थिममा चार वटा प्यारलल् सेसनहरू सञ्चालन भएको छ ।
प्यारलल् सेसन १ : हिमनदी संरक्षणका लागि १.५ डिग्री लक्ष्यको आवश्यकता (अर्जेन्सी अफ १.५ डिग्री एम्बिसन फर प्रिजर्भेसन अफ ग्लेसियर्स), प्यारलल् सेसन २ : पवर्तलाई टापुहरूसाग जोड्दै (कनेक्टिङ हाइल्यान्ड्स टु आईल्यान्ड्स), प्यारलल् सेसन ३ : खाद्य सुरक्षा र जलवायु प्रतिरोधी कृषि (फुड सेक्युरिटी एन्ड क्लाइमेट चेन्ज रेसिलेन्ट एग्रिकल्चर) र प्यारलल् सेसन ४ : पर्वतीय क्षेत्रमा समुदाय नेतृत्वमा आधारित जलवायु पहलहरू (कम्युनिटी–लिड क्लाइमेट इनिसिएटिभ्स इन द माउन्टेन्स) मा छलफल हुनेछन् ।
प्रतिकृया दिनुहोस