• २०८२ जेठ ४ शनिबार
  • Saturday, 17 May, 2025

जबज: 'दक्ष प्रजापतिकाे टाउकाे' कि मार्ग दर्शक सिद्धान्त ?

काठमाडाैं । नेकपा एमाले र एमालेबाटै फुटेकाे एकीकृत समाजवादीले समेत तत्कालिन एमाले महासचिव मदन भण्डारीले अघि सारेकाे जनताकाे बहुदलीय जनवाद (जबज)लाइ मार्ग दर्शक सिद्धान्त मान्दछन् । तर तीनै पार्टी भित्र यसकाे उपादेयता सकियाे र याे अब दक्ष प्रजापतिकाे टाउकाे सरह भयाे ।

अब समाजवादी क्रान्तिकारी कार्यक्रम चाहिन्छ । मदन मण्डारीले जबजमा सामन्तवादी व्यवस्था विरूद्धका तत्कालिन कार्यक्रम अघि सारेका हुन् भन्नेमा झलनाथ खनाल, घनश्याम भुषाललगायत छन् । 

खनालले त जनताको बहुदलीय जनवादलाई पुँजीवादी यथास्थितिवादको संज्ञा दिए । समाजवादी जनवादमा पुगेर मात्रै आम नागरिकको विकास सम्भव हुने उनको तर्क छ । 
उनले दक्षिणपन्थी अवसरवादी धाराबाट समाजको अग्रगति सम्भव नरहेको जिकिर गरेका छन् ।

नेता खनालले भनेका छन्, ‘एउटा पुनःउत्थानवादीहरुको धारा छ, जो नेपाललाई फेरि राजतन्त्रको युगतर्फ, अन्धकार, सामन्तवादी युगतर्फ फर्काउन चाहन्छ, जसलाई विद्यार्थी आन्दोलनभित्रबाट बढार्न जरुरी छ । दोस्रो पुँजीवादी यथास्थितिवादी धारा छ, त्यसले जुन ढंगले २०६३/०६३ मा क्रान्ति भयो, हाम्रो देशमा पुँजीवाद आएको छ, पुँजीवादी जनवाद हामीले स्थापना गरेका छौं, अब यहाँबाट अझै अघि बढ्नुपर्नेछ । समाजवादी जनवादमा पुग्नुपर्नेछ । समाजवाद स्थापना गर्नुपर्नेछ । तर एकथरि विद्यार्थीहरु त्यो मान्दैनन् । उनीहरु पुँजीवादी यथास्थितिवादको धारालाई समाइरहेका छन् । अहिलेको जे समाज छ, यही कुरा ठीक छ, यही नै समाज विकास हो, यही स्वर्ग हो, यसमै बसेर लुटपाट गर्नुपर्छ भन्ने छन् । यसमा खण्डन गर्नुपर्छ । यसबाट समाजको अग्रगति सम्भव छैन । तेस्रो धारा दक्षिणपन्थी अवसरवादी धारा छ, भन्न चाहिँ आफूलाई क्रान्तिकारी धारा भन्छ, तर यथार्थमा दक्षिणपन्थी अवसरवादी धारा छ, त्यसले जबज भन्छ, त्यो जबज भनेको पनि पुँजीवादी जनवाद नै हो । त्यसले पुर्‍याउने ठाउँ पनि पुँजीवादी यथास्थितिवाद नै हो । त्यसैले दक्षिणपन्थी अवसरवादी धारासँग पनि वैचारिक संघर्षहरु गर्नुपपर्छ ।’

के हो जबज ?

२०४९ सालमा सम्पन्न एमालेको पाँचौँ महाधिवेशनमा मदन भण्डारीद्वारा प्रस्तावित र पारित पार्टी नीति तथा कार्यक्रमलाई जनताको बहुदलीय जनवाद संक्षिप्तमा ‘जबज’ भनिन्छ । एमालेले मदन भण्डारीलाई जनताको बहुदलीय जनवादमा प्रतिपादक तथा जबजलाई नविन सिद्धान्त मान्दछ ।

पाँचौँ महाधिवेशनको ध्रुवीकरणमा नेपाल मदन भण्डारीको पक्षमा थिए भने खनाल सीपी मैनालीको समूहमा । मैनालीले ‘परिमार्जित नौलो जनवाद’ नामक भिन्नै दस्तावेज प्रस्तुत गरेका थिए । मैनालीको दस्तावेज अल्पमतमा परेको थियो ।

खनालले त्यही बेला नै जबजलाई ‘दक्ष प्रजापतिको टाउको’ भन्ने संज्ञा दिएका थिए । तर, पुनश्च पार्टी नेतृत्वमा आएपछि उनले जनताको बहुदलीय जनवादलाई नै मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गरे । खनाल पार्टी अध्यक्ष हुँदा एमालेको औपचारिक कार्यक्रम तथा मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद नै थियो ।

दक्ष प्रजापतिको कथा 

दक्ष प्रजापति सृष्टिसम्बन्धी हिन्दू किंवदन्तीका एक पात्र हुन् । उनी सृष्टि पुरुष ब्रह्माका छोरा र महादेवका ससुरा थिए । ब्रह्माका मानषपुत्र दक्षको उत्पति ब्रह्माको अंगुठाबाट भएको कथामा उल्लेख छ ।

दक्षका दुई पत्नी थिए । प्रसूति र विरणी । प्रसूतिबाट १६ विरणीबाट ६० गरी ७६ छोरी थिए । तिनैमध्ये एक थिइन्, सतिदेवी । सतिदेवी महादेवलाई पतिका रूपमा प्राप्त गर्न चाहन्थिन् । तर, दक्ष महादेवलाई कन्यादान गर्न चाहँदैनथे ।

एक समारोहमा महादेवले नमस्कार नगरेर अपमान गरेको पीडा दक्षको मनमा थियो । सतिले पिता दक्षको इच्छाविपरीत महादेवलाई स्वयंवर गरिन् । दक्षले आफ्ना सबै छोरी ज्वाइँलाई निम्त्याएर ठूलो यज्ञ आयोजना गरे । तर, महादेवलाई निमन्त्रणा नगरेको अपमानबोधले सतिले यज्ञकुण्डमा हाम्फालेर आत्मदाह गरिन् ।

सतिको आत्मदाहको समाचारले क्रोधित महादेवले दक्षको यज्ञ भङ्ग गरे । दक्षको शिर छेदन गरे । तर, जब विष्णु आएर सम्झाए महादेवको रिस शान्त भयो । उनले शिर छेदन भएको शरीरमा बोकाको टाउको राखेर दक्षलाई जीवनदान दिए ।

त्यसपछि महादेव सतिको लास बोकेर विलाप गर्दै हिँडे । उनी जहाँ-जहाँ पुगे, जहाँ-जहाँ सतिको कुनै अङ्ग पतन भयो, त्यहाँ-त्यहाँ एक शक्तिपीठको उदय भयो । पछि सतिले हिमालयपुत्री पार्वतीको रूपमा पुनर्जन्म लिइन् र शिवजीसँग बिहे गरिन् । यो कथा स्वस्थानीमा पनि सुन्न पाइन्छ ।

खनालले जबजलाई दक्ष प्रजापतिको टाउको किन भने ?

दक्ष प्रजापतिको शरीर मानिसको र टाउको बोकाको भयो । मदन भण्डारीको जनताको बहुदलीय जनवादको कार्यक्रमलाई खनालले त्यस्तै देखे । शरीर साम्यवादको र टाउको संसदीय बहुदलीय लोकतन्त्रको ।

साम्यवादको सिद्धान्त संसदीय लोकतन्त्रको विरुद्धमा भएको थियो । कम्युनिष्ट विचारका मुख्य सिद्धान्तकार कार्ल मार्क्स, फ्रेडरिख एङ्गेल्स, भीआई लेनिन र जोसेफ स्टालिन सबै बहुदलीय संसदीय लोकतन्त्रका विरोधी थिए ।

कम्युनिष्ट पार्टीहरूको मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवाद हो । अझ कतिपयले त्यसमा माओवादसमेत थप्ने गर्दछन् । नेपालमै पनि माओवादी थपेका थुप्रै दल छन् ।

कार्ल मार्क्स कम्युन र लेनिन सोभियत प्रणालीका समर्थक थिए । माओ च तोङको देश चीनमा अहिलेसम्मपनि एकदलीय कम्युनिष्ट प्रणाली नै छ, बहुदलीय व्यवस्था छैन । साम्यवादको शरीरमा बहुदलीय संसदीय व्यवस्था जोडिदिनु दक्ष प्रजापतिको शरीरमा बोकाको टाउको जोडेजस्तै हो भन्ने खनालको तर्क थियो ।

जबजमाथि यति कठोर टिप्पणी र आलोचनाका बाबजुद उनले आफ्नै विचारधारा, सिद्धान्त र प्रारुप भने कहिल्यै अघि सार्न सकेनन् । बरु उल्टै त्यही सिद्धान्त मान्ने पार्टीको अध्यक्ष र बहुदलीय लोकतन्त्रभित्रै देशको प्रधानमन्त्री भए ।

जबज कति सृजनशील ?

एकीकृत समाजवादीकै महासचिव घनश्याम भुसालका शब्दमा जबज ‘कम्युनिष्टहरूले पनि बहुदलीय प्रणालीको चुनावमा भाग लिनुपर्छ’ भन्ने घोषणाभन्दा बढी अरु केही हैन । साम्यवादीहरू मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओजस्तै एक दलीय प्रणालीमा विश्वास गरेर अघि बढ्नुपर्छ कि बहुदलीय लोकतन्त्रलाई स्वीकार गर्नुपर्दछ भन्ने बहस विश्व कम्युनिष्ट आन्दोलनमा कुनै नयाँ भने हैन ।

कार्ल मार्क्स र फ्रेडरिख एङ्गेल्सकै पालमा जर्मन समाजवादी एडुअर्ट बर्नस्टिनले सर्वहारा राज्य र एकदलीय कम्युन प्रणालीको विरोध गरेका थिए । सिद्धान्ततः उनी मार्क्सवादी समाजवादी थिए तर, उनले मार्क्सकै कयौं अवधारणा अस्वीकार गरेका थिए, त्यसमध्ये एकदलीयता कि बहुदलीयता भन्ने एक थियो ।

त्यसो त जीवनको उत्तरार्धतिर स्वयम् कार्ल मार्क्सले बहुदलीय लोकतन्त्र स्वीकार गर्न थालेका थिए भनेर स्वयम् उनकी छोरी इलिनियोर मार्क्सले डायरीमा लेखेकी थिइन् ।

लेनिनको पालामा जर्मन समाजवादी कार्ल काउत्स्की र रोजा लक्जेम्बर्ग तथा रुसी मेन्सेभिक र अनार्किष्टहरूले सोभियत प्रणालीको विरोध गरेका थिए । भलै कि त्यसलाई लेनिनले अस्वीकार गरे ।

चीनमा भने बहुदलीय लोकतन्त्र र एकदलीय कम्युनिष्ट प्रणाली पक्षधर बीच भीषण गृहयृद्ध भएको थियो । सन् १९४९ मा माओ नेतृत्वको लालसेनाले बेइजिङ कब्जा गरेपछि पराजित नेता च्याङ काई शेक ताइवान पलायन भएका थिए । आज पनि चीन मूलभूमिमा एकदलीय कम्युनिष्ट प्रणाली र ताइवानमा बहुदलीय लोकतन्त्र छ ।

कम्युनिष्ट आन्दोलनमा बहुदलीय प्रणाली स्वीकार गर्नुपर्ने बहस सन् १९७० को दशकमा फेरि सुरू भयो । सन् १९७८ मा पश्चिम युरोपेली कम्युनिष्ट पार्टीहरुले एक सम्मेलन गर्दै बहुदलीय लोकतन्त्र स्वीकार गर्ने घोषणा गरे, जसलाई ‘युरो कम्युनिज्म’ भनिन्छ ।

जनताको बहुदलीय जनवाद खासमा बर्नस्टिनवाद, काउत्स्कीवाद र युरो कम्युनिज्मकै नेपाली संस्करण हो । तर, एमालेले त्यसलाई मदन भण्डारीको सृजनशील प्रतिपादन र नवीन विचार भएको दाबी गर्ने गर्दछ । यसले एमालेलाई राजनीतिक फाइदा हुँदै आएको त छ । तर, बौद्धिक र प्राज्ञिक तहमा भने एमाले हल्का देखिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर