• २०८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025

सत्तामा संकट ! ओली भेट्न गएनन् देउवा, क्याविनेट बसेन, गभर्नर अनिश्चित

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति नहुँदा मन्त्रिपरिषद्को सोमबार बस्ने बैठक स्थगित भएको छ । गभर्नर नियुक्तिका लागि बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको हो । 

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल अध्यक्षताको गभर्नर सिफारिस समितिको बैठक नबसेको भन्दै मन्त्रिपरिषद् बैठक नराखिएको एक मन्त्रीले जानकारी दिए । 'गभर्नर नियुक्तिको मात्रै एजेन्डा थियो । सिफारिस समितिको बैठक नबसेको र अर्थमन्त्री बजेट निर्माणमा वस्त हुनुभएकाले मन्त्रिपरिषद् बैठक पनि स्थगित भएको हो,' ती मन्त्रीले भने, 'गभर्नर नियुक्तिका लागि सिफारिस समिति बैठक बसेपछि मात्रै क्याबिनेट मिटिङ बस्ने होला । अर्थमन्त्री बजेटमा व्यस्त हुनुपर्नेछ । गभर्नर दुई-चारदिन पछि सिफारिस गरेपनि भइहाल्छ भन्ने होला ।'

गभर्नर सिफारिस र नियुक्तिका बारेमा छलफल गर्न प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई बालुवाटार बोलाएका थिए । 'साँझ छलफलमा बोलाउनुभएको थियो । तर ७ बज्दासम्म भने सभापति देउवा आइपुग्नुभएको छैन,' प्रधानमन्त्री निकट स्रोतले भन्यो ।

देउवा निकट स्रोतका अनुसार गभर्नर नियुक्तिको विषय यसअघि नै टुंगो लागिसकेको छ । सोही विषयमा फेरि छलफल गर्न जाने कि नजाने भन्ने केही बेरमा देउवाले निर्णय लिने बताएको छ ।

मन्त्रिपरिषद् बैठकको अनिश्चयसँगै गभर्नर नियुक्ति पनि अनिश्चित बनेको छ।

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ १ गतेको पत्रकार सम्मेलनमा ४ दिनभित्रै गभर्नर नियुक्त गरिसक्ने दाबी गरेका थिए।

गत चैत २५ गतेयता केन्द्रीय बैंक नेतृत्वविहीन छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर