• २०८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025

मेयर बालेनलाई सत्ताको घेराबन्दी

काठमाडौं । स्वतन्त्र उम्मेदवारीबाट काठमाडौं महानगरको मेयर निर्वाचित बालेन्द्र शाह (बालेन)माथि सतहमै देखिने गरी राजनीतिक दबाब परेको छ । काठमाडौं टावरमा अनियमितता गरेको भन्दै बालेनले कारबाही गरेका महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई संघ सरकारले हाजिर गर्न पठाएपछि र उपमेयर सुनिता डंगोलको नेतृत्वमा २१ चैतमा ढोका फोडेर कार्यालय भित्राएसँगै बालेनमाथि राजनीतिक दबाब सुरु भएको थियो । त्यसयता प्रमुख प्रशासकीय अधिकृतसँग बालेनको बोलचाल मात्रै बन्द छैन, उपमेयर डंगोलसँग पनि भेटघाट छैन । हुँदाहुँदै अब त वडाध्यक्षहरूले समेत बालेनले तोकेको जिम्मेवारी अस्वीकार गर्न थालेका छन् ।

अख्तियारले समेत छानबिन गरिरहेको गुरागाईंलाई दलबलसहित कार्यालय भित्राउने उपमेयर डंगोल संघ सरकारको नेतृत्व गरिरहेको एमालेबाट निर्वाचित हुन् । प्रधानमन्त्री केपी ओली मुछिएका गिरिबन्धु टी–स्टेटलगायत अनियमितताका मुद्दामा बालेनले सामाजिक सञ्जालबाट खरो आलोचना गर्दै आएका थिए । त्यस्तै, मेयर बालेनले तोकेका जिम्मेवारी अस्वीकार गर्ने वडाध्यक्षहरू सत्तारूढ एमाले र कांग्रेसबाट निर्वाचितहरू नै छन् ।

मेयर बालेनले गत बिहीबार महानगरअन्तर्गत विभिन्न समितिका संयोजकहरूको जिम्मेवारी हेरफेर गर्दै वडाध्यक्षहरूलाई जिम्मेवारी तोकेकामा तीन वडाध्यक्षले अस्वीकार गरेका हुन् । आफूहरूलाई दिइएको जिम्मेवारी कार्यपालिका बैठकबाट अनुमोदन नभएको कारण देखाउँदै उनीहरूले आइतबार संयुक्त पत्र पठाएर अस्वीकार गरे ।

बालेनले सुशासन समितिमा वडा नं. ३० का वडाध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिमा वडा नं. २४ का वडाध्यक्ष विनोद राजभण्डारी र सूचना प्रविधि समितिमा वडा नं. ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिलाई संयोजक तोकेका थिए । कार्की र राजभण्डारी कांग्रेस तथा प्रजापति एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

बालेनले चार समितिको संयोजक हेरफेर गरेकामा विधायन समिति संयोजक तोकिएकी वडा नं. १६ की वडाध्यक्ष रोजिना श्रेष्ठले भने जिम्मेवारी स्वीकार गरेकी छिन् । श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएर निर्वाचित भएकी हुन् । यसअघि यी समितिमध्ये तीनमा कांग्रेस र एकमा एमालेका वडाध्यक्ष संयोजक थिए ।

बालेनका स्वकीय सचिव भूपदेव शाहले समितिको नेतृत्व लिन अस्वीकार गर्दै राजीनामा लिएका संयोजकहरूसँग छलफल गर्ने र दिइएको जिम्मेवारी नलिए अर्को निर्णय नहुँदासम्मका लागि समितिहरू निष्क्रिय हुने बताए । 

कारबाहीमा परेका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई २१ चैतमा उपमेयर डंगोलले नेतृत्व लिएर ढोका नै फोडेर कार्यालय भिœयाएपछि बालेन–डंगोल भेटघाट पनि ठप्प भएको छ ।

केही वडाध्यक्षले बालेनलाई एक्लाएक्लै भेट्ने गरेका छन् । बालेन र महानगर प्रवक्ता नवीन मानन्धरबिच पनि त्यसयता भेट भएको छैन । त्यस्तै, बालेन र गुरागाईंबिच पनि भेटघाट र बोलचाल ठप्प छ । दुवै आ–आफ्नो कार्यकक्षमा आउने र काम गरेर फर्किने गरेका छन् । कार्यालय सञ्चालनको विषयमा समन्वय र सहकार्य हुन सकेको छैन ।

‘प्रशासकीय अधिकृतको विषयमा संघ सरकारले मेयरज्यूलाई निकै असहयोग गर्‍यो, प्रसस्त आधार देखाउँदा पनि महानगरमा जबर्जस्ती पठाइयो,’ बालेनको सचिवालयका एक सदस्यले भने, ‘सोही कारण मेयरज्यूले उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसँग भेटघाट गर्नुभएको छैन । उहाँले सुशासनका लागि पहल गर्दा संघ सरकारले प्रतिशोध राख्यो । हामी व्यक्ति (गुरागाईंप्रति)केन्द्रित होइनौँ, व्यक्तिगत रूपमा कुनै लेनादेना छैन । तर, अख्तियारले छानबिन गरिरहेको कुरा हो, हामीले सुशासनप्रति ध्यान दिएका हौँ ।’ 

गुरागाईंले मिलेमतोमा काठमाडौं टावरको नक्सापास गरेको भन्दै बालेनले उनलाई ७ पुसमा निलम्बन गरेका थिए । निलम्बनपछि उनको कार्यकक्षमा ताला नै लगाइएको थियो । बालेनको सचिवालयले नै गुरागाईंमाथि छानबिन अघि बढाएको थियो भने नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन संघ सरकारसँग अनुरोध गरेको थियो । तर, सरकारले नयाँ प्रशासकीय अधिकृत नपठाइदिएपछि चार महिनासम्म महानगरपालिका कर्मचारीको तलब र अन्य भुक्तानीको काम रोकिएको थियो । यही बिचमा सरकारले गुरागाईंमाथिको आरोप पुष्टि हुन नसकेको भन्दै उनलाई नै महानगरमा हाजिर गर्न पठाएपछि त्यसले राजनीतिक लफडाको रूप लियो । 

संघ सरकारका कारण रद्द भयो बालेनको जापान भ्रमण 
संघ सरकारले समयमै सूचना नदिँदा हालै मेयर बालेनको जापान भ्रमण पनि रोकिएको छ । मन्त्रिपरिषद्ले समयमै निर्णय नगरेको र ढिला गरेको निर्णयबारे समयमै जानकारी नदिएका कारण भ्रमण रोकिएको हो ।

उनी २८ वैशाखमा जापानको युएनसिआरडी स्मार्ट सिटीसम्बन्धी वर्कसपका लागि जानुपर्ने थियो । तर, मन्त्रिपरिषद्ले २५ वैशाखमा मात्रै भ्रमण स्वीकृत गरेर २६ वैशाखमा जानकारी दिएको थियो । ढिलो निर्णय र सूचना प्राप्त भएकाले भ्रमण रोक्नुपर्ने अवस्था आएको बालेनका स्वकीय सचिव भूपदेव शाहले बताए । ‘जापान जान सचिवालयले १० दिनअघि नै संघ सरकारसँग अनुमतिका लागि पत्र पठाएको थियो, तर मन्त्रिपरिषद्को बैठकमा ढिलो लगियो,’ उनले भने, ‘ढिलैगरी सूचना आएकाले तयारी नपुग्दा भ्रमण रोक्नुपर्‍यो ।’ 

बालेनलाई गणतन्त्र मूल समारोह समितिमा नराख्न प्रधानमन्त्री ओलीको निर्देशन
संघ सरकारबाट असहयोग भएको गुनासो काठमाडौं महानगरले गरिरहेका वेला प्रधानमन्त्री केपी ओलीले काठमाडौंका मेयर बालेन शाहलाई गणतन्त्र मूल समारोह समितिमा नराख्न निर्देशन दिएका छन् । गणतन्त्र दिवस मनाउन मूल समारोह समिति गठन गर्ने सोमबारको कार्यक्रममा उपस्थित नभएको भन्दै ओलीले बालेनलाई अर्कोपटकदेखि बैठकमै नबोलाउन र समितिमा नाम पनि नराख्न गृह मन्त्रालयलगायत निकायलाई निर्देशन दिएका हुन् ।

‘एकपल्टको कुरा होइन, दुईपल्टको कुरा होइन, तीन पल्ट होइन, तीनपल्ट लगातार आएन भने त अर्कोपल्टसम्ममा सोधीखोजी गर्नुहोला, रेकर्ड हेर्नुहोला, को–को आउँदैनन्, सोधेर आउने होइन, आउन सकिन्न भने नाम राखिन्न, इतिहास बनिरहने, नाम छापिरहने, मान्छे नआउने ?’ प्रधानमन्त्री ओलीले भने । 

मेयर बालेनका स्वकीय सचिव भूपदेव शाह प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले काठमाडौं महानगर केन्द्र सरकारविहीनताको अवस्थामा रहेको पुष्टि गरेको बताउँछन् । ‘सिंहदरबारको सरकारबाट संविधानको मर्मअनुसार सहअस्तित्व, सहकार्य र समन्वय भएन, हाम्रो लागि केन्द्र सरकारविहीनताको अवस्था छ,’ उनले भने, ‘आजको प्रधानमन्त्रीको अभिव्यक्तिले पनि यसलाई थप स्पष्ट पारेको छ । सिंहदरबारले स्थानीय सरकारलाई सरकार देखेन, एउटा शाखा मात्र देख्यो ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश सिलवालले अर्कोपटकदेखि बैठकमा नआए नाम नराखिने छलफल बैठकले गरेको बताए । ‘योपटक होइन, अर्कोपटक पनि कुनै पनि महानगरको प्रमुख नआए नाम नराख्ने छलफल भएको हो,’ उनले भने, ‘यसपटक त नाम राखिएकै छ ।’

ओली–बालेन विवाद शृंखला 

बालेनले मेयरमा उम्मेदवारी दिएपछि चुनावकै वेला ओलीबाट टिकट पाएका एमाले उम्मेदवार केशव स्थापितले ‘र्‍यापर केटो आफूसँग भिड्न आएको’ भन्दै होच्याउने गरी व्यंग्य कसेका थिए । भलै त्यसलाई चुनावी घोचपेचको रूपमा मात्रै लिइयो । जब स्थापितलाई तेस्रो नम्बरमा धकेलेर बालेन मेयरमा उदाए, त्यसको केही समयपछि ओली नै बालेनविरुद्ध खनिन थाले । 

महानगरको फोहोर नउठेपछि बिग्रिएको सम्बन्धबिच ओलीले बालेनलाई ‘केटाकेटी’ भनिदिएपछि सामाजिक सञ्जालमा ‘वार’ सुरु भयो । बालेनको निर्देशनमा धरहरामा पार्किङ खुलाएपछि त ओली झन् बिच्किए । यिनै घटनाक्रमबिच बालेनले झापा दमकमा ओलीको पहलमा ठड्याइएको बिजनेस टावरलाई फेसबुकबाटै ‘अग्लो घर’को संख्या दिए । 

सरकारले चक्रपथ निर्माणमा ढिलासुस्ती गरेर जनतालाई सास्ती दिएको भन्दै मेयर बालेनले गत वर्ष एमालेबाट भौतिक पूर्वाधारमन्त्री रहेका रघुवीर महासेठलाई दैनिक एक ट्रक धुलो उपहार पठाउने भन्दै फेसबुकमा लेखे । त्यसलगत्तै सडक विभागअन्तर्गत सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंको गेटमा एक ट्रक धुलो फ्याँकेको भिडियोसमेत सार्वजनिक गरे । ओली झन् आकोशित भए, सार्वजनिक कार्यक्रमबाटै विरोध गरे । 

न्युरोडमा सडकपेटी विस्तारका क्रममा महानगर र सडक विभागबिचको विवादमा पनि एमाले बालेनको आलोचनामा उत्रियो । त्यसबारे एमाले सचिव योगेश भट्टराई सदनमै बोले । एमालेबाट निर्वाचित वडाध्यक्ष चिनीकाजी महर्जनले बालेनले क्षेत्राधिकार मिचेर न्युरोडमा सडकपेटी विस्तार गरेको भन्दै विरोध गरे । यो प्रकरणमा एमाले र कांग्रेस जनप्रतिनिधिले उनलाई घेरे । महानगरले भत्काएको न्युरोडको सडक ओली सरकारले बनाउन लागेपछि बालेनले गिरिबन्धु टी–स्टेटमा मुछिएका ओलीमाथि फेसबुकबाटै कटाक्ष गरे ।

‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन थाल्नुभएछ,’ उनले लेखे । विवाद बढ्दै जाँदा बालेन समर्थकले ओलीको फेसबुक पेज अनफलो अभियान नै चलाए ।

ओलीसँग बालेनको अर्काे टकरावको विषय एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मासम्बन्धी मुद्दा हो । शर्माको घरमा काम गर्ने एक बालिकालाई महानगरपालिकाले गत वर्ष जेठमा उद्धार गरेको थियो । छानविनको क्रममा उनलाई शर्माले यातना दिने गरेको खुल्यो । सोही आधारमा महानगरले सांसद शर्माविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी दियो ।

तर, ओली सरकारकै दबाबमा शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरिएकोमा बालेन आक्रोशित बनेका थिए । पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर टकराव चलिरहेको छ । 
नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर