• २०८२ जेठ १० शनिबार
  • Saturday, 24 May, 2025

जेलेस्कीपछि ह्वाइट हाउसमा ट्रम्प र दक्षिण अफ्रिकी राष्ट्रपतिबीच कटु वार्ता

एजेन्सी । युक्रेनका राष्ट्रपति भाेलाेदिमिर जेलेन्सी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ह्वाइट हाउसमा कटु वार्ता भएकाे धेरै भएकाे छैन । तर दाेस्राे कार्यकालका लागि निर्वाचित भएर फेरि ह्वाइटहाउस छिरेका ट्रम्पकाे अर्काे वार्ता पनि त्यस्तै कटु हुन पुगकाे अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । ट्रम्प र दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाबीचको भेटवार्ता 'तनावपूर्ण' बनेको छ।

ट्रम्म र रामाफोसाबीचको बुधबार ह्वाइट हाउसमा भएको भेट र कुराकानीलाई अमेरिकी मिडियाहरूले गत फेब्रुअरीमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भएको चर्काचर्कीसँग तुलना गरे ।

यद्यपि बुधबार दुवै राष्ट्रपतिबीच चर्काचर्की भने भएको छैन। ट्रम्पले समकक्षी रामाफोसासँग फेब्रुअरीमा जेलेन्स्कीसँग गरेजस्तै पत्रकारहरूका अगाडि लाइभ कुराकानी गरे। कुराकानीबीच ट्रम्प आक्रामक ढंगले प्रस्तुत भए पनि रामाफोसा शान्त रहे र ट्रम्पका हरेक आरोपहरूलाई स्पष्ट पार्ने प्रयत्न गरिरहे।

दक्षिण अफ्रिका र अमेरिकाबीच चिसिएको सम्बन्ध सुधार गर्न भनेर राष्ट्रपति रामाफोसा बुधबार श्वेत गल्फरहरू अर्नी एल्स, रेटिफ गुसन र अर्बपति जोहान रूपर्टलाई लिएर ह्वाइट हाउस पुगेका थिए।

रामाफोसालाई ट्रम्पले सुरूमै दक्षिण अफ्रिकामा श्वेत किसानहरुको नरसंहार भएको र त्यहाँको सरकारले कुनै कदम नचालेको भनेर आलोचना गरे।

रामाफोसाले दक्षिण अफ्रिकामा श्वेतहरूको नरसंहार भएको कुरामा सत्यता नरहेको बताए। बरू ट्रम्पले विनाप्रमाण आफ्ना निकटरहरूले भनेकै कुरालाई साँचो ठानेर त्यस्तो धारणा बनाएको बताए।

'यदी नरसंहार भएको थियो भने मेरो साथमा यी तीनजना (दुई श्वेत गल्फर र व्यापारी) मानिसहरू आउँदैनथे। स्वयंम कृषिमन्त्री पनि मसँग हुदैनथे,' रामाफोसाले भने, ' राष्ट्रपति ट्रम्पले उनीहरूको धारणा सुन्नुभयो, कथा सुन्नुभयो र त्यसलाई सत्य मान्नुभयो।'

तर हामीसँग हजारौं त्यस्ता स्टोरी र डकुमेन्ट्रीहरू छन्,' ट्रम्पले तत्काल जबाफ दिए।

त्यसपछि ट्रम्पले ओभल अफिसमै छोटो भिडिओ देखाए। भिडिओमा संसद बैठकमा विपक्षी सांसदको भाषण र चिहानहरू देखाइएको थियो। ट्रम्पले ती चिहानमा नरसंहार गरिएका दक्षिण अफ्रिकी श्वेतहरू गाढिएको बताए।  भिडिओपछि ट्रम्पले दक्षिण अफ्रिकी श्वेतहरू मारिएका समाचारहरूको कटिङहरू देखाएर रामाफोसालाई - त्यसो भए यो के हो?

'श्वेतहरुको नरसंहार भइरहेको छ। श्वेत किसानहरूको हत्या गर्नेलाई दक्षिण अफ्रिकी सरकारले कारबाही गर्दैन। उनीहरूलाई छुट दिएर राखेको छ,' ट्रम्पले भने।

रामाफोसाले भिडिओमा देखिएको चिहान कुन ठाउँको हो भनेर ट्रम्पलाई प्रश्न गरे। ट्रम्पले आफूलाई थाहा नभएपछि रामाफोसाले त्यसको पत्ता लगाउने पनि बताए। यद्यपि नरसंहार भएको विषय सत्य नरहेको कुरा रामाफोसाले पुनः दोहोर्‍याए।

संसदको भिडिओबारे बहुदलीय प्रजातान्त्रिक मुलुक भएकाले दक्षिण अफ्रिकामा साना दलहरू पनि अस्तित्वमा रहेको उनले बताए। 

'संविधानले श्वेतहरूको जमिन कब्जा गर्न पनि दिन्छ? उनीहरूको हत्या गर्न पनि दिन्छ?,' ट्रम्पले प्रतिप्रश्न गर्दै भने, 'जमिन हडपेपछि श्वेतहरुको हत्या हुन्छ र हत्या गर्नेलाई त्यहाँको सरकारले केही गर्दैन।'

रामाफोसाले नरम भएर दक्षिण अफ्रिकामा अपराधका घटनाहरू धेरै हुने स्वीकार गरे। उनले त्यसरी मारिनेहरुमा श्वेतभन्दा अश्वेतहरूको संख्या धेरै भएको बताए।

'किसानहरू अश्वेत होइनन्,' ट्रम्पले भने। उनले श्वेतहरूको बर्बरतापूर्वक हत्या भएको। हरेक आइतबार मानिसहरू त्यसरी मारिएका आफ्ना प्रियजनको सम्झनामा चिहानहरुमा पुग्ने गरेको बताए।

रामाफोसाले आफूहरू नेल्सन मन्डेलाबाट प्रशिक्षित भएको बताउँदै समस्या र विवाद उत्पन्न भए त्यसलाई छलफलबाट समाधान गर्नुपर्ने बताए। उनले सँगै व्यापार र लगानीका विषयमा पनि छलफल गर्नुपर्ने बताए।

उनले आपराधिक क्रियाकलापहरूलाई नियन्त्रण गर्न प्रविधिहरूको आवश्यकता रहेको बताए। दक्षिण अफ्रिकाको एउटा क्षेत्रमा अमेरिकी प्रविधि प्रयोग गरिएको उनले बताए।

ट्रम्पले पुनःश्वेतहरूमाथि आक्रमण भएको उनीहरू दक्षिण अफ्रिकामा असुरक्षित भएको विषय उठान गरे। 'हजारौं हजारका संख्यामा उनीहरू अमेरिका आउने क्रममा छन्। आइरहेका पनि छन्। अस्ट्रेलियामा पनि थोरै संख्यामा मानिसहरू गएका छन्,' उनले भने।

ह्वाइट हाउसको भेटवार्तामा रामाफोसाले ट्रम्पलाई व्यापार र खनिजहरूको कुराकानीमा ध्यान केन्द्रित गराउन खोजेका थिए। तर ट्रम्पले भने अधिकांश समयमा श्वेतहरूमाथि हिंसा गरिएको विषयमा कुरा गरे।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दुई देशले दक्षिण अफ्रिकाका महत्वपूर्ण खनिजहरूबारे छलफल गर्ने सहमति भएको छ।

दक्षिण अफ्रिकाले इजराइलविरूद्ध इन्टरनेशनल कोर्ट अफ जस्टिसमा (आइसिजे)मा नरसंहारको (जेनोसाइड) मुद्दा हालेको थियो।

ट्रम्पले इजराइलविरूद्ध हेगमा रहेको आइसिजेमा हालेको मुद्दा र नयाँ जमिन अधिग्रहण कानूनका कारण दक्षिण अफ्रिकालाई अमेरिकाले दिँदै आएको सहायता रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

दक्षिण अफ्रिकाले ल्याएको नयाँ जमिन अधिग्रहण कानूनले सरकारलाई जायज लागे बिना कुनै क्षतिपुर्ति व्यक्तिगत जमिन अधिग्रहण गर्ने अधिकार दिन्छ। दक्षिण अफ्रिकामै समेत विरोध भएको सो कानून अल्प-संख्यक गोराहरूको जमिन हडप्न ल्याइएको आरोप लगाउँदै ट्रम्पले समेत विरोध गर्दै आइरहेका छन्। घनिष्ठ सम्बन्ध भएको इजराइल विरूद्ध गजाका प्यालेस्टिनीको नरसंहार गरेको मुद्दा चलाएकाले पनि ट्रम्प दक्षिण अफ्रिकासँग क्रुद्ध छन्।

उनले  त्यहाँ प्रताडित श्वेतहरूलाई इच्छा भए अमेरिका आउन दिने बताएका थिए। त्यसको थप प्रक्रिया सहज बनाउन उनले विदेशमन्त्री मार्को रूबिओलाई जिम्मेवारी दिएका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर