• २०८२ जेठ १७ शनिबार
  • Saturday, 31 May, 2025

ट्रम्पसँग खटपट परेपछि सरकारबाट बाहिरिने मस्कको घोषणा

काठमाडौं । विश्वकै धनाढ्य अर्बपति इलन मस्कले ट्रम्प सरकारबाट बाहिरिएको घोषणा गरेका छन् । यस वर्षको जनवरीमा डोनाल्ड ट्रम्पले सत्ता सम्हालेसँगै उनी ‘विशेष सरकारी कर्मचारी’ का रूपमा व्हाइट हाउस प्रवेश गरेका थिए । सन् २०२४ भर ट्रम्पलाई राष्ट्रपति निर्वाचित गराउन मस्कले सयौं मिलियन अमेरिकी डलर लगानी गर्नुका साथै हरेक मोर्चामा सँगै उभिएका थिए ।

व्हाइट हाउसका वरीष्ठ अधिकारीले मस्कको बहिर्गमन तत्काल हुने पुष्टि गरेको रोयटर्सले उल्लेख गरेको छ । मस्कले पनि आफ्नै स्वामित्वको सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै ट्रम्प सरकारमा आफ्नो जिम्मेवारीको अन्त्य भएको घोषणा गरेका छन् । अमेरिकी सरकारका विभिन्न निकायमा रहेको अनावश्यक खर्च कटौती गर्ने आफ्नो मिसनमा काम गर्ने अवसरका लागि पनि उनले ट्रम्पलाई धन्यवाद दिएका छन् ।

सरकारका विभिन्न निकायमा भइरहेको लगभग २० खर्ब अमेरिकी डलर खर्च बचाउने घोषणासहित ट्रम्प सरकारमा सहभागी भएका मस्कले २ महिनामै सो रकमलाइ १ खर्ब ५० अर्ब अमेरिकी डलरमा झारेका थिए । यसका लागि ट्रम्पले उनलाई अमेरिकी सरकारको प्रभावकारिता बढाउने विशेष विभाग ‘डज’ को नेतृत्व सुम्पिएका थिए ।

ट्रम्प सरकारको शुरूवातमा जताततै देखिएका मस्क पछिल्लो एक महिनामा खासै सार्वजनिक रूपमा देखिएका छैनन् । अब आफ्नै व्यवसायमा दिनरात काममा फर्कने शैलीका सन्देश दिँदै आएका थिए । मस्कको कार्यशैलीका कारण एकपछि अर्का अमेरिकी नेताहरूसँग विवाद हुन थालेपछि मार्चको अन्त्यतिर ट्रम्प आफैँले मस्कले अब सरकार छोड्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

झण्डै एक महिनायताका कुनै पनि सोसल पोस्टमा ट्रम्पले मस्कको नाम लिएका छनन् । सन् २०२६ को मध्यकालीन चुनावका लागि अत्याधिक अलोकप्रिय देखिन थालेपछि रिपब्लिकन पार्टीले समेत मस्कबाट टाढिन सुरू गरेको एपीले उल्लेख गरेको छ ।

यस्तै, ट्रम्पका ट्यारिफ, एआई नीतिलगायत कतिपय विषयमा मस्कले सार्वजनिक रूपमै असन्तुष्टि राखेपछि ट्रम्प सरकारका एक वरिष्ठ अधिकारीले उनलाई ट्रम्पको सामू गाली गरेको पोलिटिकोको समाचारमा भनिएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर