महंगो हुने भयो चुरोट र रक्सी, बढ्यो कर

काठमाडौं । सरकारले करको दर बढाएसँगै मानिसको स्वास्थ्यमा नकारात्मक असर पार्ने धुम्रपान तथा मध्यपानजन्य आयातित बस्तु महंगो हुने भएका छन् । 

विगतमा लिटरका आधारमा भन्सार शुल्क तोकिने गरेकोमा अब मूल्यका आधारमा लिइने भएको छ।

विगतमा सबै प्रकारका आयातित मदिरामा एकै भन्सार शुल्क लाग्ने गरेकोमा अब प्रतिशतमा आधारमा शुल्क थोरै धेरै हुने भएको छ। सरकारको यो नीतिले महँगो मदिराको मूल्य अत्यधिक बढ्ने भएको छ। सस्तो मदिराको मूल्य भने घट्ने भएको छ।

सरकारले बिहीबार ल्याएको आर्थिक विधेयक मार्फत् मदिराको भन्सार नीतिमा परिवर्तन गरिएको हो।  

जुन सामूहिक कर असुली ऐनको व्यवस्था अनुसार ऐन पास नहुँदै लागू हुने भएको छ। बिहीबारदेखि आयात हुने मदिरामा १०० प्रतिशत भन्सार लाग्ने भएको छ। 

अर्थात्, जति मूल्यको मदिरा हो, त्यति बराबरको भन्सार शुल्क लाग्ने भएको हो। विगतमा लिटरका आधारमा जुनसुकै मदिरामा प्रतिलिटर २ हजार भन्सार शुल्क लाग्ने गरेको थियो। 

अब भने ५ सय रूपैयाँ आयात मूल्यको मदिरामा ५ सय रूपैयाँ र १० हजार रूपैयाँ आयात मूल्यको मदिरामा १० हजार रूपैयाँ भन्सार शुल्क लाग्ने भएको छ।

भन्सार अधिकारीहरूका अनुसार धेरै महँगा मदिराको मूल्य उल्लेख्य रूपमा बढ्ने भएको छ।

त्यस्तै, वाइन र बियरमा पनि फरक भन्सार नीति अपनाइएको छ। यसअघि वाइनमा प्रतिलिटर ३ सय रूपैयाँ भन्सार थियो, अब भने लागत मूल्यको ८० प्रतिशत लाग्ने भएको छ।

त्यस्तै, बियरमा यसअघि प्रतिलिटर २ सय रूपैयाँ भन्सार थियो, अब लागत मूल्यको ८० प्रतिशत लाग्ने भएको छ।

बियर र मदिराको अन्तशुल्क पनि केही बढाइएको छ। यो नीतिले महँगो मदिरा उत्पादन गर्ने स्वदेशी उद्योगलाई सहयोग पुग्ने सरकारी अधिकारीहरूको दाबी छ।

त्यस्तै, चुरोट, सिगार र निकोटिनयुक्त अन्य वस्तुको भन्सार पनि बढाइएको छ। चुरोटको भन्सार प्रतिखिल्ली ४ रूपैयाँ ५० पैसाबाट बढाएर ५ रूपैयाँ ५० पैसा पुर्‍याइएको छ। 

सिगारको भन्सार प्रतिखिल्ली ९ रूपैयाँबाट बढाएर ११ रूपैयाँ पुर्‍याइएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर