अबदेखि बल्खु, सिफल र कोटेश्वर-बालकुमारीमा मात्रै प्रदर्शन गर्न पाउने

काठमाडौँ । सरकारले काठमाडौंका तीन क्षेत्रबाहेक बाँकी ठाउँमा प्रदर्शनलगायत विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफलचौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी क्षेत्र र बल्खु क्षेत्रमा मात्रै प्रदर्शन गर्न पाइने गरी निषेधित क्षेत्र घोषणा गरेको हो । तोकिएका यी क्षेत्रबाहेकमा अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी आदेशमा उल्लेख छ ।
प्रशासनले काठमाडौं जिल्लाको चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन लगायतका विरोधका कार्यक्रम आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्ने जनगुनासोलाई मध्यनजर गर्दै र सार्वजनिक सम्पत्ति र शान्ति सुरक्षामा असर पर्ने भन्दै तीन ठाउँ बाहेकलाई दुई महिनाका लागि निषेधित क्षेत्र तोकिएको बताएको छ ।
प्रशासनको यो निर्णयले शान्तिपूर्ण रुपमा सार्वजनिक स्थानमा भेला भई विरोध प्रदर्शन गर्न पाउने नागरिकको प्रदत्त अधिकारलाई समेत खुम्च्याएको छ । अति विशिष्ट व्यक्तिहरुका कार्यालय, निवासलगायत विभिन्न स्थानलाई यसअघि नै सरकारले निषेधित क्षेत्र घोषणा गरिसकेकामा पछिल्लोपटक नारायणहिटी संग्रहालय आसपास क्षेत्रलाई निषेधित क्षेत्र तोकिसकेको छ । पछिल्लो समय राजसंस्था पुनस्थापनाको माग गर्दै राप्रपा, राप्रपा नेपाललगायत विभिन्न राजावादी दल र समूहले अनिश्चितकालीन आन्दोलन घोषणा गरेपछि प्रशासनले प्रदर्शन गर्ने क्षेत्रलाई खुम्च्याउँदै लगेको हो ।
राजावादी दल तथा समूह जेठ १५ देखि आन्दोलनमा छन् । आइतबार पनि उनीहरुले नक्साल-नारायणचौर क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यसक्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरेको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको छ । थापालाई भेट्न गएका राप्रपा सांसद दीपकबहादुर सिंहलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भद्रकालीस्थित कार्यालय परिसरबाट नियन्त्रणमा लिएको छ ।
काठमाडौंका प्रजिअ तिवारीले निषेधित क्षेत्र तोकिएबाहेक प्रशासनको समन्वयमा हुने कार्यक्रमको हकमा सोहीअनुसार समन्वय गरिने बताएका छन् ।
प्रतिकृया दिनुहोस