कोशीमा युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन

विराटनगर । युवामा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद्ले कोशी प्रदेशको विराटनगरमा युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन आयोजना गरेको छ। 'युवाका लागि अवको निकास उद्यमशीलता, रोजगारी र सिप विकास' भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनमा प्रदेशगत रुपमा युवालाई उद्यमशीलताका विविध आयामवारे अभिमुखीकरण गराइएको छ।
सातै प्रदेशमा आयोजना गरिने सम्मेलनमा नीति निर्माणदेखि कार्यान्वयन तहसम्म, सरकारीदेखि निजीसम्म, उद्यमीदेखि विज्ञसम्म, उद्योग वाणिज्यदेखि बैंकिङ क्षेत्रसम्मका व्यक्तित्वहरुको प्रस्तुतिकरण तथा प्यानल छलफल राखिएको परिषद्का कार्यकारी उपाध्याक्ष सुरेन्द्र बस्नेतले बताए ।
सम्मेलनमा अनलाइन आवेदनका आधारमा छनौट भएका १६ देखि ४० भित्रका नवउद्यमी तथा उद्यमी बन्न चाहने युवाको सहभागिता रहेको छ । उद्यमशीलता प्रवर्द्धनका विभिन्न क्षेत्रमा खुला छलफल, बहस तथा अन्तरक्रियालाई सम्मेलनमा समेटिने जनाइएको छ ।
सम्मेलन उद्घाटन कार्यक्रममा कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले प्रदेश सरकारले आगामी वजेटमा युवा उद्यशीलता र स्टार्टअपमा विशेष जोड दिने तयारी गरेको वताए। सम्मेलनमा प्रदेश लगानी प्राधिकरणका सिईओ डा.सरोज कोइरालाले प्रदेशमा युवा उद्यमशिलताको संभावना र चुनौतिवारे अभिमुखीकरण गराएका थिए ।
प्रदेश सांसद जाङवो शेर्पाले युवालाई रोक्न उद्यमशीलता र स्वोजगारको अभियान चलाउनपर्ने वताए। मोरङ उद्योग संगठनका अध्यक्ष राकेश सुरानाले युवा उद्यमशीलता प्रवर्द्धनमा जोड दिएका थिए। सम्मेलनमा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ्का अध्यक्ष चेतन निरौलाले उद्यमशीलता प्रवर्द्धनमा महासंघका प्रयासवारे चर्चा गरेका थिए।
'युवाका लागि अवको निकास उद्यमशीलता, रोजगारी र सिप विकास' विषयक प्यानल छलफलमा पूर्वमुख्यमन्त्री केदार कार्कीले युवामा कुनै न कुनै सीप भएमा मात्र आत्मनिर्भर हुन सक्ने बताए । मुख्यमन्त्री हिक्मत कार्कीका आर्थिक सल्लाहकार मोहनकुमार सुवेदीले सरकारको युवा मैत्री योजनाकाबारे प्रकाश पारेका थिए । राष्ट्रिय वाणिज्य बैंकका मुख्य प्रवन्धक रिसभ भट्टराईले युवा उद्यमशिलताका लागि सहुलियत कर्जावारे चर्चा गरेका थिए। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका कोशी प्रदेश निर्देशक उमेशप्रसाद खरेलले प्राविधिक शिक्षाबाट आय आर्जनका पाटो सहज हुने विषयबारे प्रकाश पारे ।
सम्मेलनमा झापामा ५० विघा जग्गामा केरा खेती गरिरहेका युवा उद्यमी चन्द्रप्रसाद वस्नेत , मोरङ्मा गाइपालन र कृषि उद्यम गरिरहेका युवा उद्यमी विनोद शिवाकोटी र सुनसरीमा गार्मेन्ट उद्यम गरिरहेकी महिला उद्यमी रचना राईले आआफ्ना सङ्घर्ष र सफलताको कथा वताएका थिए।
प्रतिकृया दिनुहोस