• २०८२ जेठ २४ शनिबार
  • Saturday, 7 June, 2025

माधवकुमार निलम्बनमा परेपछि बसेको विपक्षी दलको बैठक

काठमाडौं । विपक्षी दलका नेता, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचारकाे मुद्दा लागेपछि पहिलाे पटक विपक्षीहरूकाे संयुक्त बैठक बसेकाे छ । 

प्रतिनिधिसभाका विपक्षी दलको बैठक जारी छ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संसद् भवनमै विपक्षी दलहरूको बैठक बसेको प्रचण्डकाे सचिवालयले जानकारी दिएकाे छ। 

प्रतिनिधिसभामा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न विपक्षीहरू एकजुट भएका हुन्। भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै विपक्षीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै आइरहेका छन्। तर सत्तापक्ष भने यसमा तयार भएको छैन। 

आजको बैठकमा माओवादीबाट दाहाल, वर्षमान पुन,  राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याल, डा स्वर्णिम वाग्ले, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, हरि ढकाल, नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डे, शेरबहादुर कुँवर, आम जनता पार्टीका प्रभु साहलगायत सहभागी छन्।

आजको प्रतिनिधिसभा बैठक दिउँसो १ बजे डाकिएको थियो तर अझै सुरु हुन सकेको छैन। विपक्षीले अवरोध गरेपछि पछिल्लो केहीदिनयता संसद् बैठक बस्न सकेको छैन। बिहीबार बैठक बसे पनि नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर