• २०८२ जेठ २५ आइतबार
  • Sunday, 8 June, 2025

कांग्रेस–माओवादी लगातार छलफलः ओलीले भने–‘गठबन्धनमा फुट ल्याउन खोज्दैछन्’

काठमाडौं । संसदको गतिरोध अन्त्य गर्ने वाहानामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र सरकारमा सहभागि नेपाली कांग्रेसका नेताहरुबीच लगातार भइरहेको छलफलप्रति प्रधानमन्त्री केपी ओलीले चासो व्यक्त गरेका छन् । ओलीले गठबन्धनमा फाटो ल्याउनका लागि विपक्षीले प्रयास गरिरहेको टिप्पणी गरेका हुन् । 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमालेबीचको सहमति बमोजिम अबको १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गरेर एमाले सरकारका सामेल हुने दोहोर्‍याए।

‘हाम्रा विरोधीहरुले सत्ता गठबन्धनभित्र खेल्न खोजेका छन्। हामीले हाम्रो लक्ष्य मिसन २०८४ अन्तर्गत आगामी निर्वाचनमा बहुमत ल्याउँछ भनेको छौं। प्रतिस्पर्धी दल भएकाले कांग्रेसले पनि त्यो भन्न पाउँछ’, अध्यक्ष ओलीले भने, ‘हामी अहिले सँगै सरकारमा रहेर भोलि निर्वाचनमा आ–आफ्नो प्रतिस्पर्धाका आधारमा निर्वाचन लड्न तयार भएरै अघि बढेका छौ, त्यस अर्थमा मैले भन्दै आएको छु, आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने गरी काम गर्नुपर्छ। यसमा कुनै अन्योलमा रहनुपर्ने अवस्था छैन।’

उता प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरुबीच संसद भवनमै छलफल भएको छ। संघीय संसद भवनको शंकर हलमा कांग्रेस र माओवादीबीच छलफल चलिरहेको एक नेताले जानकारी दिएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघि संसद भवनमै विपक्षी दलहरूसँग छलफल गरेका थिए।

 विपक्षी दलहरुको बैठकमा प्रचण्डले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटबारे ब्रिफिङ गरेका थिए। उनले भिजिट भिसा प्रकरणको छानबिन गर्नका लागि कांग्रेस तयार नभएको ब्रिफिङ बैठकमा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन्। कांग्रेस सहमतिमा नआएको खण्डमा विपक्षी दलहरूको संसदमा आफ्नो स्ट्याण्ड कायम रहने निचोड बैठकले गरेको प्रमुख सचेतक परियारले बताए।

‘छानबिन समिति बनाउने भन्ने विषयमा सत्तापक्ष लचिलो नभएकाले हाम्रो अडान कायमै रहने भयो,’ परियारले भने । यसअघि प्रमुख सचेतक र सभामुखबीचको बैठकमा पनि संसद चलाउने विषयमा सहमतिको प्रयास बिफल भएको थियो। सत्तापक्ष र प्रतिपक्षले आ–आफ्नो अडान नछाडेपछि प्रतिपक्षीलाई पेलेरै जाने तयारी सत्तापक्षले गरेको छ । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौलाले विपक्षीले सहयोग गरे पनि नगरे पनि संसद बैठक आजदेखि स्थगित नहुने बताएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर