प्रतिनिधि सभाः अख्तियारले छानविन सकेपछि भिजिट भिसाबारे छानविन हुने

काठमाडौं । सत्ता पक्ष र विपक्षको अडानका बीच लामो समयदेखि संघीय संसदको प्रतिनिधि सभा अवरुद्ध छ ।
खुलाउनका लागि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र सत्ता पक्षीय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएपनि दलीय सहमतिको सम्भावना बढेको छ ।
सत्तापक्ष र प्रतिपक्ष दलबीच दिनभरि छलफल भए पनि सहमति जुट्न नसक्दा प्रतिनिधि सभा बैठक आइतबार पनि बस्न सकेन।
दलहरूबीच सहमति जुटेपछि सुरू गर्न सभामुख देवराज घिमिरेले सूचनामार्फत दुई पटकसम्म बैठक सारेका थिए। अर्कोतर्फ दलहरूबीच संसद भवनकै शंकर हलमा छलफल भइरहेको थियो।
छलफलमा सहमति नजुटेपछि साँझ साढे ६ बजे छोटो समयका लागि बैठक बसेर सोमबार दिउँसो २ बजे बस्नेगरी स्थगित गरिएको छ।
दिनभरिको छलफलपछि प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले थप समय मागेपछि आइतबार नै संसदको अवरोध हटाउने प्रयास सफल हुन सकेन।
तत्काल छानबिन समिति नबन्ने विषय सभापति देउवाले शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई जानकारी गराइसकेका थिए।
शंकर हलको छलफलमा कांग्रेसले सोही 'बटमलाइन'मा रहेर प्रतिपक्षी दलहरूसँग संसद खुलाउने अन्य उपायबारे छलफल गरेको थियो। अख्तियारले छानबिन गरिरहेको विषयमा अर्को समिति नबनाउने पक्षमा एमाले पहिलैदेखि अडिग छ।
नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले कांग्रेससँगको छलफल पछि समझदारीका लागि दुई बुँदे ड्राफ्ट तयार पारेका थिए। जसको पहिलो बुँदामा भिजिट भिसा प्रकरणमा अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने भन्ने उल्लेख छ।
दोस्रो बुँदामा भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित नितिगत विषयमा अध्ययन गर्न संरचना/ व्यवस्था गर्न सरकारले ठोस पहल गर्ने उल्लेख छ।
बैठकमा संसद पनि खुलाउने प्रतिपक्षीको माग पनि सम्बोधन हुने 'मध्यमार्गी उपाय'बारे छलफल भएको थियो।
त्यो भनेको अख्तियारले अनुसन्धान सकेपछि आयोग वा अध्ययन समिति बनाएर भिजिट भिसा प्रकरणबारे छानबिन गर्ने भन्ने हो।
संसद्को अवरोध खोल्न कांग्रेस र माओवादीका शीर्ष नेतृत्वबाट दलहरूबीच छलफल भइरहेका बेला सरकारको नेतृत्व गरिरहेको एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने पार्टीका कार्यक्रममा व्यस्त छन् ।
प्रतिनिधिसभामा विपक्षीले १३ जेठयता बजेट प्रस्तुत हुने दिन जेठ १५ मा भने अवरोध गरेनन्, त्यसपछिका बैठकमा अवरोध गर्दै आएका छन् । राष्ट्रिय सभामा भने प्रतिपक्षीले अवरोध गरेका छैनन् ।
प्रतिकृया दिनुहोस