भिजिट भिसा प्रकरणः दुई वाहालवाला सचिवलाई चेतावनी पत्र

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी उपसचिव खटाइएको पाइएको छ । अध्यागमन कार्यालयमा ६ उपसचिवको दरबन्दी रहे पनि अहिले ८ उपसचिव कार्यरत रहेको पाइएको हो ।
यससँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृहसचिव र संघीय मामिला तथा सामान्य प्रशासन सचिवलाई कारबाहीको चेतावनीसहितको पत्र पठाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिव गोविन्द कार्कीले जेठ २१ गते गृह सचिव गोकर्णमणि दुवाडी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई कारबाहीको चेतावनीसहितको पत्र काटेका हुन् ।
सचिव कार्कीले पत्रमा ७ दिनभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएका कर्मचारीको विवरण उपलब्ध गराउन भनेका छन् । पत्रमा दरबन्दी बमोजिम कर्मचारीको व्यवस्थापन नगरे कारबाही गर्ने चेतावनी दिइएको छ ।
‘दरबन्दी भन्दा बढी कर्मचारी कार्यरत निकाय र कार्यरत कर्मचारीको नाम नामेसीसहितको विवरण यथाशीघ्र उपलब्ध गराउन र ७ (सात) दिन भित्र अनिवार्य रूपमा दरबन्दी बमोजिम कर्मचारी व्यवस्थापन गरी गराई सोको जानकारी यस कार्यालयमासमेत उपलब्ध गराउन अनुरोध गर्दछु,’ सचिव कार्कीले दुवै सचिवलाई लेखेको पत्रमा उल्लेख छ ।
साथै उनले उजुरी, कानुनी प्रावधान, सचिव बैठकका निर्णय र यसअघि यस कार्यालयबाट कर्मचारी व्यवस्थापनका विषयमा भएका पत्राचारसमेतलाई ध्यान दिन सचेतसमेत गराएका छन् ।
प्रतिकृया दिनुहोस