ओलीलाई जवाफः ‘कार्यकर्ता भेट्न मैले अनुमति लिइरहनु पर्दैन’

काठमाडौं । पछिल्लो समय नेकपा एमाले भित्र आन्तरिक राजनीतिक तरंग बढिरहेको छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा सक्रिय हुने संकेतसहित देश भित्र मात्रै होईन विदेशको समेत भ्रमण गरेपछि वर्तमान अध्यक्ष केपी ओली तरंगगित भएका छन् । उनले पछिल्ला आफ्ना सार्वजनिक अभिव्यक्तिमा विद्या भण्डारी लक्षित अभिव्यक्ति दिइरहेका छन् ।
उता मौन बसेकी पूर्व राष्ट्रपति भण्डारीले विराटनगरमा जवाफ फर्काएकी छन् । भण्डारीले कार्यकर्ताहरूसँग भेटघाट गर्न नेकपा एमालेसँग अनुमति लिइरहनु नपर्ने बताएकी छन्।
आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूको प्रश्नमा उनले एमाले आफूले संगठित सदस्यता नलिँदैदेखि काम गरेको पार्टी भएकाले यसका कार्यक्रमहरू सहभागी हुन कसैसँग अनुमति लिनुपर्ने आवश्यकता नरहेको बताएकी हुन्।
‘राष्ट्रपति हुनुभन्दा पहिले, संगठित सदस्यता लिनुभन्दा पहिले नै पार्टीमा काम गरेको। चिनजान ठूलै छ। पार्टीमा त्यसरी परिचित भएको नेताले कार्यक्रमहरूमा मलाई बोलाउनु स्वाभाविकै हुन्छ’, उनले भनिन्, ‘मैले पनि समाजसँग साक्षात्कार गर्दै गर्नुपर्यो, भेटघाट गर्दै गर्नुपर्यो, के छ जनताको विचार, आकांक्षाहरू? नयाँ पुस्ता के चाहन्छन्? त्यसलाई पूरा गर्न, मैले सुरुमै भनेँ- राष्ट्रिय आकांक्षालाई साकार बनाउन हामी लाग्नुपर्छ। त्यो हाम्रो परम कर्तव्य हो। त्यसका लागि हामीले बाँचुन्जेल संघर्ष गर्नुपर्छ। त्यसैले देशभित्र घुमफिर गर्न एमालेका कमिटीहरूसँग भेटघाट गर्न मैले कसैसँग अनुमति लिइरहनुपर्छ भन्ने लाग्दैन।’
एमालेभित्र आफूले गुटगत राजनीति थालेको आरोपबारे प्रतिक्रिया दिँदै उनले भनिन्, ‘म कहिल्यै गुट बनाउने मान्छे होइन । अध्यक्ष ओलीजीले मलाई ताकेर भनेको जस्तो मलाई लाग्दैन । उहाँले त्यस्तो भन्नु भएको पनि होइन होला । तपाईँहरूले त्यसो अर्थ लगाउनुभयो कि ?’
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्खरै पार्टी कार्यकर्ताहरूलाई गुटबन्दी नगर्न चेतावनी दिएका थिए । कोशी प्रदेशको मोरङ र सुनसरीमा चार दिन बिताएकी भण्डारी मंगलबार काठमाडौं फर्किंदै छिन् ।
दुई पटक मुलुकको राष्ट्रपति भइसकेकी विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्कने स्पष्ट रूपमा बताइसकेकी छन् । पहिलोपल्ट २०७२ कात्तिकमा र त्यसपछि २०७४ फागुनमा राष्ट्रपति बनेकी भण्डारी नियमित दुई कार्यकाल सकेर २०७९ फागुनमा शीतल निवासबाट बिदा भएकी थिइन् । त्यसको केही समयपछि उनी पुनः सक्रिय राजनीतिमा फर्कने संकेतले एमालेभित्र तरंग पैदा गरेको छ ।
भण्डारी एमालेमा फर्कने चर्चा भइरहेका बेला प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भने हल्ला मात्र फैलाइएको बताएका छन् । 'यहाँ अब फलाना आउने अरे, फलाना आउने अरे, यस्तो-यस्तो । पार्टीमा कुनै छलफल नै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष, अहिले महाधिवेशन घोषणै भएको छैन,' अध्यक्ष ओलीले केही दिनअघि भनेका थिए ।
प्रतिकृया दिनुहोस