• २०८२ जेठ २८ बुधबार
  • Wednesday, 11 June, 2025

समयको आवश्यकताले वाम एकता हुन्छ– भण्डारी

विराटनगर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले नै वाम एकता नहुने बताएकी छन्। आज (मंगलबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीहरुबीचमा विश्वासको ठूलो संकट भएकाले तत्कालै वाम एकता हुने सम्भावना कम रहेको स्पष्ट पारेकी हुन्। उनले वाम एकता समयको आवश्यकताले हुने बताएकी छन्।

चीन भ्रमण गरेर आइसकेपछि नेपालमा वाम एकताको चर्चा छ नि भन्ने प्रश्नमा उनले भनिन्, ‘नेपालमा पहिलेदेखि वाम एकताको चर्चा परिचर्चा छ, यो समयको आवश्यकताले हुने कुरा हो। वाम एकता गरे पनि अहिलेसम्म टिकेको छैन, त्यसैले म वाम एकता भइहाल्ला भन्ने कुरामा त्यति आश्वस्त पनि छैन । किनकी विश्वासको ठूलो संकट छ पार्टी पार्टीहरूको बीचमा ।’ 

उनले वामपन्थीहरु बीचमा मात्र नभई देशका ठूला र जिम्मेवार दल, अहिले उदय भएका नयाँ दलहरूबीच राष्ट्रिय एजेण्डामा राम्रो छलफल गरेर एकताका साथ अगाडि बढ्दा राष्ट्रलाई फाइदा हुने बताइन्। पूर्व राष्ट्रपति भण्डारीले अहिलेको प्रणालीको बारेमा जनताहरु सन्तुष्ट रहेको बताइन्।

‘स्वतन्त्रता एकदमै राम्रो छ । जनताका छोराछोरी आफ्नो दक्षता प्रयोग गरेर काम गर्न सक्ने वातावरण छ। यो भन्दा ठूलो स्वतन्त्रता त के हुन्छ ?’ उनले थपिन्, ‘तर अहिले संसार जसरी विकास भइरहेको छ। हाम्रा जनताले, नवपुस्ताहरुले हेरिराखेका हुन्छन्, त्यसैले विकासको आकांक्षा बढी छ। आर्थिक समृद्धि, परिवार परिवारको आवश्यकता बढिरहेको हुन्छ, अहिलेको पुस्ता त्यत्तिकै बस्न चाहँदैनन्। उनीहरू चाँडै आर्थिक विकास गर्ने व्यग्र प्रतीक्षामा छन्।’

उनले एमाले आफूले संगठित सदस्यता नलिँदैदेखि काम गरेको पार्टी भएकाले यसका कार्यक्रमहरू सहभागी हुन कसैसँग अनुमति लिनुपर्ने आवश्यकता नरहेको बताएकी छिन् । ‘राष्ट्रपति हुनुभन्दा पहिले, संगठित सदस्यता लिनुभन्दा पहिले नै पार्टीमा काम गरेको। चिनजान ठूलै छ। पार्टीमा त्यसरी परिचित भएको नेताले कार्यक्रमहरूमा मलाई बोलाउनु स्वाभाविकै हुन्छ’, उनले भनिन्, ‘मैले पनि समाजसँग साक्षात्कार गर्दै गर्नुपर्‍यो, भेटघाट गर्दै गर्नुपर्‍यो, के छ जनताको विचार, आकांक्षाहरूरु नयाँ पुस्ता के चाहन्छन्? त्यसलाई पूरा गर्न, राष्ट्रिय आकांक्षालाई साकार बनाउन हामी लाग्नुपर्छ। त्यो हाम्रो परम कर्तव्य हो। त्यसका लागि हामीले बाँचुन्जेल संघर्ष गर्नुपर्छ । नयाँ पुस्ताका लागि देशका लागि। त्यस हिसाबले देशभित्र घुमफिर गर्न मैले नेकपा एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्छ भन्ने लाग्दैन।’

भण्डारीले एमालेको भाबी अध्यक्षका रूपमा तपाईंले गुटगत राजनीति शुरू गर्नुभएको भन्ने टिप्पणी छ नि भन्ने प्रश्नमा आफूले कुनै गुटगत राजनीति नगरेको बताइन् । ‘अध्यक्ष ओली(केपी शर्मा ओली)जीले मलाई नै ताकेर भन्नुभयो होला भन्ने मलाई लाग्दैन । म कहिले गुट नबनाएको मान्छे त्यसो भन्न मिल्दैन । उहाँले पनि त्यस्तो भन्नुभएको होइन होला । तपाईंहरूले त्यस्तो अर्थ लगाउनुभयो कि ?,’ उनले भनिन् ‘अरू आकांक्षीको मनमा प्रश्न उठेको होला ।’

जहाँ जसरी हुन्छ काम गर्ने भन्दै भण्डारीले ओलीले महाधिवेशन आएपछि नेतृत्व निर्माण हुन्छ र मिलाएर गर्छौं भनेर आश्वस्त गर्नुभएको हुनसक्ने बताइन्।’ प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दिन अगाडि विद्या भण्डारीलक्षित कडा अभिव्यक्ति दिएका थिए। उनले भण्डारीले गुटबन्दी गरेको आरोप लगाउँदै त्यसको पछि नलाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।

‘यहाँ अब फलाना आउने अरे, फलाना आउने अरे, यस्तो-यस्तो । पार्टीमा कुनै छलफल नै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष, अहिले महाधिवेशन घोषणै भएको छैन,’ अध्यक्ष ओलीले भनेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर