लेखा अधिकृत कुटिए, उपमेयर थुनिए

जनकपुरधाम । सप्तरीको राजविराज नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको विषयमा आन्दोलन भइरहँदा मंगलबार लेखा अधिकृत कुटिएका छन् भने उपमेयर थुनिएकी छन् ।

नगरपालिका कार्यालय परिसरमै लेखा अधिकृत शत्रुधनलाल दास कुटिएका हुन् । 

दासलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको छ । निलम्बित मेयर भीमराज यादवको निर्देशनमा आफूमाथि कुटपिट भएको उनले बताए । 

भ्रष्टाचार गर्न उपसचिवस्तरका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गराएको आरोप लगाउॅंदै नगरपालिकामा तालाबन्दी गरेर धर्ना बसिरहेका निलम्बित मेयर यादवले भने कार्यवाहक मेयर इसरत परविन र कर्मचारी मिलेर आफूहरुलाई नै कुटपिट गर्ने प्रयास गरेको बताए । 

प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साहको सरुवा गराएर आठौं तहका शिक्षा शाखामा कार्यरत कर्मचारी भोगेन्द्रप्रसाद यादवलाई निमित्त दिएपछि उनीहरुले आइतबारदेखि नगरपालिकामा तालाबन्दी गरी धर्ना बसिरहेका छन् ।  

नगरपालिकाको कार्यालयमै कार्यवाहक मेयर इसरत परविन थुनिएकी हुन् । बाहिर आन्दोलन चर्काएपछि उनी करिब तीन घण्टादेखि बाहिर निस्किन सकेकी छैनन् । कार्यालयमा ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन भएका छन् ।

निलम्बित मेयर भीमराज यादवले भ्रष्टाचार भइरहेको भन्दै तीन दिनदेखि कार्यालयमा तालाबन्दी गरेका छन् । 

कार्यालयमा समय नदिॅंदा डा.साहलाई सरुवा गराउन बाध्य भएको कार्यवाहक मेयर परविनले बताइन् । 

एसपी ढकेन्द्र खतिवडाले कर्मचारीमाथि कुटपिट भएको विषयमा थप अनुसन्धान भइरहेको बताए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर