• २०८२ असार ३ मंगलबार
  • Tuesday, 17 June, 2025

नेदरल्यान्डसविरुद्ध नेपाल पहिला ब्याटिङमा, नन्दनको डेब्यु

काठमाडौं । नेदरल्यान्ड्सले विश्वकप क्रिकेट लिग–२ मा नेपालविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्डसले डन्डीको फोर्टहिलमा टस जितेर नेपाललाई ब्याटिङका लागि बोलाएका हुन् ।

नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ । चोटका कारण सोमपाल कामी र गुलशन झा खेलिरहेका छैनन् । सोमपाललाई स्कटल्यान्डविरुद्धको खेलमा ब्याटिङका क्रममा बाउन्सर बलले कुहिनामा चोट लागेको थियो । गुलशनलाई घुँडामा चोट लागेको छ । यी दुवैले अर्को साता ग्लास्गोमा सुरु हुने तीनदेशीय ट्वान्टी २० शृंखलासमेत गुमाउने भएका छन् ।

सोमपाल र गुलशनको स्थानमा नन्दन यादव र बसिर अहमदलाई खेलाइएको छ । दाहिने हाते तीव्र बलर नन्दनले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्न लागेका हुन् । त्यस्तै ठूलो स्कोर बनाउन नसकेका ओपनर एवं विकेटकिपर आसिफ शेखको स्थानमा अनिल साहलाई खेलाइएको छ ।

नेदरल्यान्ड्सका कप्तान इडवार्डस टोलीमा फर्किएका हुन् । नेपालविरुद्धको पहिलो खेलमा उनी ब्याटिङका क्रममा घाइते भएका थिए । उनले विक्रमजित सिंहको स्थान लिनेछन् । नेपालले पहिलो खेलमा आरिफ शेखको ७८ रनमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो ।

यस शृंखलाका ३ खेलमा नेपालले २ मा विजय हात पारेको छ । स्कटल्यान्डको यस लिग २ मा दुवै खेल हारेको नेदरल्यान्ड्स लगातार तेस्रो खेलमा पराजित भइसकेको छ ।

लिग २ मा नेदरल्यान्ड्स २२ खेलमा २६ अंक जोडी दोस्रो स्थानमा छ । १४ खेलमा नेपालले १० अंक जोडेको छ । आठ राष्ट्र सहभागी लिग २ को शीर्ष चार टोली विश्वकप छनोटमा पुग्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर