• २०८२ जेठ २८ बुधबार
  • Wednesday, 11 June, 2025

राज्य व्यवस्था समितिबाट नागरिकता विधेयक पारित

काठमाडौं । बहुप्रतिक्षित नागरिकता विधेयक प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएकाे छ ।

नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको हाे। मंगलबार बसेको समितिको बैठकले उक्त विधेयक पारित गरेको हो। 

मंगलबार करिब ५ घन्टा बसेको समितिको बैठकले नागरिक विधेयक पारित गरेको सभापति रामहरि खतिवडाले बताए।

उनले विधेयकमा आमा वा बाबुको नामबाट नागरिकता प्राप्त हुने बताए। पहिले नागरिकता लिनका लागि आमा र बाबु अनिवार्य हुन्थ्यो ।

आमाको नामबाट नागरिकता लिँदा स्वघोषणा भने गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसरी गरिएको स्वघोषणा गलत ठहरिएमा १ वर्षसम्म कैद र जरिवानाको व्यवस्था पनि राखिएको छ ।

आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानुन नहुँदा नागरिकताविहीनको संख्या ठूलो रहेको भन्दै सरकारले यो विधेयक ल्याएको थियो ।

त्यस्तै, नागरिकता कार्यालय प्रमुखको भूमिकामा रहेका नायब सुब्बाले पनि दिने व्यवस्था विधेयकमा राखिएको छ । समिति सचिव सुरज दुराका अनुसार यो विधेयक पारित भएर ऐनका रूपमा कार्यान्वयनमा आएपछि कार्यालय प्रमुखको रूपमा काम गरिरहेका नायब सुब्बाले पनि नागरिकता दिन पाउनेछन् ।

समितिबाट पारित भएको नागरिकसम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेस गरिने भएको छ।

यसैबीच सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी छुट्टै विधेयक ल्याउने भएको छ।

मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले एनआरएन नागरितासम्बन्धी छुट्टै ऐन निर्माण गर्ने र नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने व्यवस्था गरिने बताए।

परराष्ट्र मन्त्रालयको नेतृत्वमा ऐन निर्माण भइरहेको उनको भनाइ थियो। गृहमन्त्री लेखकले गोरखा सैनिकका समस्या समाधान गर्नको लागि नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न लागिएकोसमेत बताए।

समितिकाे छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नागरिकता सम्बन्धी विधेयकमा सरोगेसीको विषय कसरी सम्बोधन गर्ने? भन्दै सरकारसँग प्रश्न गरेका थिए ।

उनले सरकारसँग सरोगेसीसम्बन्धी विषयलाई कसरी समाधान गर्ने भन्दै प्रश्न गरेका हुन् । आधुनिकताको विकाससँगै सरोगेसीको चलन बढ्दै गइहेको छ ।

विकसित मुलुकमा मात्र होइन, नेपालमा पनि सरोगेसीको चलन बढ्दो छ । अरुको गर्भ भाडामा लिएर बच्चा जन्माउने प्रकृयालाई सरोगेसी भनिन्छ । सरोगेसीलाई गर्भ भाडामा लिने प्रकृया पनि भनिन्छ । विश्वका चर्चित कलाकारहरुले सरोगेसीबाट बच्चा जन्माएका थुप्रै उदाहरण छन् । नेपालमा पनि सरोगेसीको चलन बढिरहेको सन्दर्भमा प्रमुख सचेतक पाण्डेले सरकारको जवाफ माग गरेका हुन् । उनले सरोगेसी शुरु हुँदै गर्दा त अहिले नागकिरतामा समस्या सिर्जना भइरहेको समयमा सरोगेसीको चलन बढ्दै जाँदा नागकिरतामा कसरी समेट्ने भन्दै प्रश्न गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर