पत्रकारलाई पक्राउनै गर्नुपर्ने हिल्टन–जयवीर काण्ड के थियो ?

काठमाडौं । वरिष्ठ पत्रकार दिलभूषण पाठकविरुद्ध समाचार प्रसारण गरेको आधारमा पक्राउ पूर्जी जारी भएपछि के थियाे पक्राउ गर्नुपर्ने कारण भनेर खाेजी हुन थालेकाे छ ।
शंकर ग्रुपको स्वामित्वमा रहेको नक्सालको हिल्टन होटल खरिदमा कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवा जोडिएको भन्ने समाचारका कारण उजुरी परेपछि पक्राउ पूर्जी जारी भएको हो।
‘नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेका कारण पाठकविरुद्ध पक्राउ पूर्जी जारी भएको हो,’ स्रोतले बतायो। स्रोतका अनुसार काठमाडौं जिल्ला अदालतले यो पूर्जी जारी गरेको हो।
पाठकले आफ्नो युट्युब च्यानलको ‘टफ टक’ कार्यक्रममा ‘टफ एक्स्प्लेनर’ सामग्रीमार्फत जयवीरले होटल हिल्टन खरिद गरेको आसयको समाचार प्रस्तुत गरेका थिए। यस समाचारलाई लिएर उनकोविरुद्ध साइबर अपराधको उजुरी परेको छ।
पाठकले समाचारमा जयवीरले होटलका प्रबन्ध निर्देशक शाहिल अग्रवाल र व्यापारी दीपक भट्टसँग मिलेर होटल खरिद गरेको आरोप लगाएका थिए। साथै, जयवीरले आफ्ना बुवा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा डायपर र सेनिटरी प्याड आयातमा कर छुट हुनेगरी करको दर परिवर्तन गरेको पनि पाठकले उल्लेख गरेका छन्।
१७ तले उक्त होटलको नक्सापास विवादमा देउवा परिवार जोडिएको समाचारमा दाबी गरिएको छ। शंकर ग्रुपको यो होटल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।
पाठकले जयवीरले दुबई, अष्ट्रेलिया हुँदै क्यानडासम्म रियल स्टेट व्यवसाय फैलाएको र नक्सालको पाँचतारे होटल हिल्टनमा पनि संलग्न रहेको दाबी गरेका थिए। उनले जयवीरको सम्पत्तिमाथि पनि प्रश्न उठाएका छन्। यस विषयमा शंकर ग्रुपले गत वैशाख २१ मा विज्ञप्ति जारी गरी खण्डन गरेको थियो र कानुनी प्रक्रिया अपनाउने बताएको थियो।
‘राजनीतिक व्यक्ति र व्यापारिक घरानाको नाम जोडेर गलत समाचार बनाई सार्वजनिक गर्दा व्यवसायको प्रतिष्ठा र राजनीतिज्ञको जीवनमा नकारात्मक असर पर्ने काम भएको छ। यसप्रति गम्भीर आपत्ति जनाउँदै नेपालको कानुनअनुसार आवश्यक प्रक्रिया अपनाइने जानकारी गराउँछौं,’ विज्ञप्तिमा उल्लेख छ।
'हामीले अहिले कुनै नयाँ लगानीकर्ता भित्र्याएका पनि छैनौ,' होटलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भनेका थिए । होटलको आइपिओ निष्कासनको तयारी भइरहेको पनि अग्रवालको भनाइ थियाे।
२०८१ साउनबाट सञ्चालनमा आएको होटल हालै सर्वसाधारणमा सेयर जारी गर्ने उद्देश्यले पब्लिक कम्पनीमा रूपान्तरण भएको छ।
जयवीर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्रीसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य आरजु राणाका एक मात्र सन्तान हुन्।
प्रतिकृया दिनुहोस