• २०८२ जेठ ३१ शनिबार
  • Saturday, 14 June, 2025

अर्जेन्टाईन युवा स्टार रियलमा अनुबन्ध

काठमाडौं । डि मारियापछि रियलमा अर्जेन्टिनाका खेलाडी थिएनन् । तर यसपाली स्पेनिस पावर हाउस रियल मड्रिडले अर्जेन्टाइन युवा स्टार भित्राएको छ । 

रियलले अर्जेन्टिनाका सबैभन्दा कान्छा खेलाडी फ्राङ्को मस्तान्तुओनोलाई रिभर प्लेटबाट अनुबन्ध गरेको छ। १७ वर्षीय मस्तान्तुओनोको रिलिज क्लज सक्रिय गरेपछि रिभर प्लेटले ४५ मिलियन युरो प्राप्त गर्ने बताइएको छ। त्यो क्लबको लागि नयाँ कीर्तिमान हो।

अट्याकिङ मिडफिल्डर मस्तान्तुओनोले पछिल्ला दुई सिजनमा रिभर प्लेटको पहिलो टोलीमा नियमित रुपमा खेल्दै आइरहेका छन्। उनले बोका जुनीअर्सविरुद्धको डर्बीमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान पनि बनाएका छन्।

गत हप्ता उनी अर्जेन्टिनाको प्रतिस्पर्धात्मक खेलमा डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए। चिलीविरुद्धको विश्वकप छनोटको १-० को जितमा अन्त्यतिर प्रतिस्थापन खेलाडीका रुपमा मस्तान्तुओनो मैदान प्रवेश गरेका थिए।

उनको रियलसँगको ६ वर्षे सम्झौता १४ अगस्टबाट सुरु हुनेछ । सोही दिन उनले १८ वर्ष पूरा हुनेछन् । यो ट्रान्सफर विण्डोमा रियलले भित्राएको उनी तेस्रो हुन् । यसअघि लिभरपुलका डिफेन्डर ट्रेन्ट अलेक्ज्याण्डर-अर्नोल्ड र बर्नमाउथका डिन हुइजसेनसँग सम्झौता भएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर