मधेशमा पनि बजेट दुरुपयाेगः एमाले र कांग्रेसकाे पार्टी कार्यालय बनाउन राज्यकाे ढुकुटी

जनकपुरधाम । मधेश प्रदेश सरकारले राजनीतिक दलको भवन बनाउन सरकारी कोषको दुरुपयोग गरेको छ । एमालेबाट निर्वाचित भएर मधेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री बनेका सरोजकुमार यादवले पार्टी कार्यालय भवन बनाउन रकम छुट्याएका छन् ।

मिथिला भवन नाम दिएर सुरु भएको पार्टी कार्यालयको काम बीचमै रोकिएपछि भौतिक पूर्वाधार मन्त्रालयको ५० लाख रुपैयाँ छुट्याएको हो । बजेट आएपछि धनुषाको जनकपुर उपमहानगरपालिका-४ स्थित अदालत रोडमा एमाले पार्टी कार्यालय निर्माणको काम अघि बढेको छ ।

पूर्वाधार विकास कार्यालय धनुषाका इन्जिनियर ज्योति साहले अहिले ‘इन्टर लक ब्लक’, 'बाउन्ड्री वाल' र अधुरो भवनको छत ढलानको काम भइरहेको जानकारी दिइन् । आर्थिक वर्ष २०८१/०८२ को रेड बुकमा मिथिला भवनको अधुरो भवन निर्माण शीर्षकमा ४५ लाख रकम मात्रै उल्लेख छ । तर, पछि पुनः पाँच लाख थपिएको इन्जिनियर साहले बताइन् । यो काम उपभोक्ता समितिमार्फत भइरहेको उनको भनाइ छ ।

अहिले सब कन्ट्रयाक्टमा प्रणय यादवले काम गरिरहेका छन् । उनले यस विषयमा कुनै प्रतिक्रिया नदिने र चाहिएका विवरण मन्त्रालयबाट नै लिनुपर्ने बताए । मन्त्री यादव र उनको सचिवालयसँग यस विषयमा प्रतिक्रिया लिने प्रयास गरे पनि सम्पर्क हुन सकेन ।

मधेश प्रदेशका पार्टी कार्यालय निर्माणमा सरकारी रकम दुरुपयोग गरिएको यो पहिलो घटना भने होइन । यसअघि आर्थिक वर्ष २०७९/८० मा कांग्रेसबाट निर्वाचित भएर भौतिक पूर्वाधारमन्त्री बनेका रामसरोज यादवले पनि कांग्रेस कार्यालयमा भवन निर्माणका लागि बजेट विनियोजन गरेका थिए । ४० लाख रुपैयाँ विनियोजन गरेर पार्टी कार्यालय परिसरमै दुईतले भवन र सभाहल निर्माण गराउने योजना राखेर उनले काम सुरु गराएका थिए ।

उक्त भवनको शिलान्यास कांग्रेस नेता विमलेन्द्र निधि र मन्त्री यादवले संयुक्त रुपमा गरेका थिए । कांग्रेस संसदीय दलका नेतासमेत रहेका कृष्ण यादव भौतिक पूर्वाधार विकासमन्त्री बनेपछि पुनः २० लाख रकम विनियोजन गरेको कांग्रेस धनुषाका उपसभापति गणेश झाले बताए । ‘फाउन्डेसनको काम भइसकेको छ । वाल र छतको काम हुन बाँकी छ,’ उनले भने, ‘भवन चारतले बनाउने योजना छ ।’ काम सम्पन्न हुने गरी बजेट नआउँदा ढिलो भएको बताउँदै उनले आगामी आर्थिक वर्षमा पनि पैसा छुट्याउन पहल भइरहेको बताए ।

राजनीतिक विश्लेशक रोशन जनकपुरी राजनीतिक दलका पार्टी कार्यालय निर्माणमा सरकारी पैसा खर्च गर्नु गलत अभ्यास रहेको बताउँछन् । यसले नागरिकको राजस्वको दुरुपयोग भइरहेको उनको भनाइ छ । उनले अस्पतालको अभाव रहेको अवस्थामा पार्टी कार्यालयमा लगानी गर्नु शक्तिको दुरुपयोग भएको बताउँदै भने, ‘यो नागरिकको राजस्वको दुरुपयोग हो । यस्तै गतिविधिले नागरिक निराश भइरहेको छन् । नेताप्रति वितृष्णा उत्पन्न भइरहेको छ ।’

कांग्रेसका धनुषा सभापति योगेन्द्र पंजियारले सबै ठाउँमा यस्तै गरी काम भइरहेकाले त्यति गलत भन्न नमिल्ने तर्क गरे । ‘सरकारको पैसा दलको भवन निर्माणमा लगानी नगरेकै राम्रो,’ उनले भने, ‘तर, के गर्नु सबै ठाउँमा त्यस्तै भइरहेको छ । त्यसकारण धेरै गलत पनि होइन । आखिरमा त्यहाँबाट पनि त जनताले नै सेवा लिन्छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर